यो तिमीले हाराकिरी गर्ने समय हो

यो तिमीले हाराकिरी गर्ने समय हो

  • आइतवार, पुस १, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

– बलराम तिमल्सिना

एसल्ट ग्रुपका योध्दाहरू
चुडिएका हात-खुट्टा घिसार्दै
तिम्रो राजधानीमा अनसनमा छन 
एक मुठ्ठी गणतन्त्र माग्दै
ती तिमीलाई सत्तामा चढाउँनेहरू
यसरी अलपत्र भएको वेला
तिमी भने
बुलेट प्रुफ गाडी भित्र
हिजोका दुश्मनको सुरक्षामा छौ
अलिकति लाज हुने हो भने
यो तिमीले लाज मान्नु पर्ने समाचार हो !

जसले काँखका नानीहरू गुमाए
ती अझै अपमानित छन
जसले अँगालाका साथीहरू गुमाए
ती अझै प्रताडित छन
जसले गुमाए न्यानो काँख
तिनीहरूको विहान आएकै छैन
यो समय तिमी भने
हिजो तिमीले वैरी घोषणा गरेर
सफायाको सूचीमा राखेकासँग
महङ्गा मदिरामा मदहोस छौ
अलिकति संझने हो भने पुराना वाचा
जनअदालतमा उभ्याएर
यो तिमीलाई फासी दिनु पर्ने समय हो !

जसको राज ल्याउँने भनिएको थियो
अहँ तिनीहरूको राज आएन
वरु अरुहरूकै आयो
तिमी लुकेको वुइगल
भत्किएर खण्डहर भयो
तिमी हिड्ने मूलबाटो
रुख उम्रेर जङ्गल भयो
सहिदका समाधीहरू
मान्छेका आची गर्ने स्थल बने
तिमीभने
हिजो आफैंले गद्दार भनिएकासँग
इल्लू इल्लू गरेर बसेका छौ
तिम्रो स्मरण शक्ति नगुमेको भए
र अलिकति इमान वाँकी हुने हो भने
यो समय
साँच्चै तिमीले हाराकिरी गर्ने समय हो !

अहिले
आँधी उल्टो बगिरहेछ
र तिमी अमन चयनमा छौ
कुनै पहरामा ठोक्किर
जव फर्कने छ आँधी
दुश्मनको सूचीमा राखेर तिमीलाई
मृत्यु दण्डको फैसला सुनाउँने छ समयले

महाशय,
तिम्रो भित्ताको घडीको सुई बटारेर
संसारको समय रोकिदैन !

२०७५|०९|०१
सुवर्ण चोक , भक्तपुर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी