ताप्लेजुङ, १ पुस ।
ताप्लेजुङमा नेकपाले समाज भवन निर्माण गर्ने भएको छ । सोको लागि भवन निर्माणको शिलन्यास समेत सम्पन्न गरिएको छ । सामाजिक कार्यमा प्रयोग गर्न र कम्युनिस्ट संस्कृतिको विकास गर्ने उद्देश्यले यो योजना अगाडि सारिएको बताइएको छ ।
जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाको वडा ५ नम्बर वडा, हेल्लोकमा १५ लाख बराबरको लगानीमा झण्डै २ सय क्षमताको समाज भवन बन्नेछ । भवनको शिलान्यास नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा ‘विरही’ले गत शुक्रबार एक कार्यक्रमबीच शिलान्यास गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीको पूर्वीकमान्ड अन्तर्गत रहेको मेची ब्युरोको ताप्लेजुङ जिल्लाको हेल्लोकमा नेकपाले उक्त भवन बनाउने भएको जानकारी दिइएको छ । शिलान्यासका क्रममा मेची ब्युरो इन्चार्ज तथा पार्टीका केन्द्रीय समिति सदस्य सुमन र जिल्ला इन्चार्ज सक्कल शिलान्यासका क्रममा उपस्थित थिए ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज विरहीले केपी–प्रचण्ड गठबन्धनको सरकारले नेकपाविरुद्ध लिएको दमनको नीति असफल भएपछि वार्ताको नाटक गरेको बताए । दमनले जनताको क्रान्ति र परिवर्तन दुनियाँका कहीँपनि रोकिएको नजिर नरहेको प्रष्ट पारेका थिए ।
‘यो दलाल संसदीय व्यवस्था अन्त्य नगरी आम नागरिकको अधिकार सुनिश्चित हुँदैन’ ईन्चार्ज विरहीले भने ‘यसको लागि पार्टीले लिएको एकीकृत जनक्रान्ति हुँदै वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनाको लागि प्रचण्डहरुले अलपत्र छाडिएको क्रान्तिको झण्डलाई नेकपाले उठाएको हो ।’
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिले जिल्लालाई प्रारम्भिक कामको लागि १ लाख रुपैयाँ निकासा दिइसकेको छ । आवश्यक भौतिक सामाग्री खरिदबाट उक्त भवन निर्माण ३ महिनामा सम्पन्न गर्ने गरी निर्माण कार्य प्रारम्भ भएको जिल्ला इन्चार्ज सक्कलले जानकारी दिए । निर्माणका लाग्ने मजदुरी भने नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको पूर्णश्रमदान गर्नेछन् ।
कम्युनिस्ट आन्दोलनका अग्रजहरू र नेकपाको संगठनको वर्चश्व भएको हेल्लोकमा कम्युनिस्टको संस्कार र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले समाज भवनको परिकल्पना गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीको वर्चश्व रहेको छ भने यो गाउँलाई कम्युनिस्टको उद्गस्थलको रुपमा पनि परिचित छ ।