कर्मचारीलाई छलेर ल्याएको कर्मचारी समायोजन अध्यादेश मान्दैनौंः कर्मचारी संगठन

कर्मचारीलाई छलेर ल्याएको कर्मचारी समायोजन अध्यादेश मान्दैनौंः कर्मचारी संगठन

  • बुधबार, मंसिर २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, २६ मंसिर ।

राष्ट्रिय निजामती कर्मचारी संगठनले सरकारले कर्मचारी समायोजन अध्यादेश कर्मचारीसँग छलेर ल्याएको भन्दै सच्याउन माग गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा अध्यादेशले कर्मचारीमाथि विभेद गरेको भन्दै अध्यादेशको कडा विरोध गरेको छ । संगठन नेकपा निकट संगठन हो ।

अध्यादेश नसच्याई पारित गरिएको खण्डमा कडा आन्दोलनमा उत्रने चेतावनी बुधबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा संगनठका अध्यक्ष टोपबहादुर बाँनियाले दिए ।

अध्यक्ष बाँनिया र महासचिव अमर वलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले ल्याएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ले कर्मचारीको मनेविज्ञान त्रास फैलाउने र विभेद गर्ने भएकोले अविलम्ब सच्याउन माग गरिएको छ ।

राष्ट्रिय कर्मचारी महासंघ नेपालका अध्यक्ष गोपाल सिंह धामीले कर्मचारी समायोज अध्यादेशले कर्मचारीलाई निरुत्साहित र संघीयतालाई नै धरापमा पार्ने किसिमबाट आएको बताउँदै कडा विरोध गरे । सरकारले दम्भ राखेर अध्यादेश ल्याएको धामीको भनाई छ ।
कर्मचारीसँगै सल्लाह नगरी हचुवामा अध्यादेश ल्याएको संगठनको निस्कर्ष छ । विज्ञिप्तमा १५ बुँदे विरोधका कार्यक्रमसहित मागहरु राखिएका छन् ।

प्रेस विज्ञप्तिको पूर्णपाठः

नेपालको परम्परा गत प्रशासनिक परिपाटी, यस भित्र निहित अपारदर्शी, असन्तुलित, विभेदकारी कार्यशैली र पद्दतीको समुल नष्ट गरी स्वच्छ, सरल एवं सर्वशुलभ जनसेवामार्फत स्वाधीन, सवल र समृद्ध राष्ट्र निर्माणमा टेवा पु¥याउने पवित्र ध्येयका साथ स्थापित राष्ट्रिय निजामती कर्मचारी संगठन कर्मचारीहरुको पेशागत हक, हित, वृत्ति विकास एवं सेवा सुरक्षाको सवालमा दृढतापूर्वक संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ ।

हाम्रो गौरवशाली संगठनले आफ्नो स्थापना कालदेखि नै अन्याय, अत्याचार, विभेद, शोषण, दमन, ढिलासुस्ती, आर्थिक अपारदर्शिता लगायतका विकृति र विसंगतीकाविरुद्घ सम्पूर्ण देशभक्त, प्रगतिशिल लोकतन्त्रवादी सच्चा राष्ट्रसेवक कर्मचारीहरुलाई एकतावद्घ गरी निरन्तर संघर्ष गर्दैै चुस्त, दुरुस्त प्रशासन संयन्त्र निर्माण गर्दै सुशासन र समृद्घिका लागि सवल, सक्षम, स्वाधिन राष्ट्र निर्माणको महाअभियानमा योगदान गर्दै आएको कुरा स्पष्ट पार्दछौ ।

हाल देश संघिय प्रणालीमा गएको अवस्थामाप्रदेश र स्थानीय तह नेपालको सन्दर्भमा नितान्त नयाँ परिवेश रहेको विदितै छ । संघ, प्रदेश र स्थानीयतहको निर्वाचन सम्पन्नभई तिनै तहको सरकार गठन पश्चात देश संघियता कार्यान्वयनको महाअभियानमा छ । कर्मचारी व्यवस्थापनमा भइरहेको ढिलासुस्तीका कारण संघीयतानै धरापमा पर्न सक्नेप्रति चनाखो रही यथासम्भव छिटो कर्मचारी समायोजन गरी व्यवस्थित प्रशासन संचालन हुनु पर्दछ भन्ने संगठनको धारणा हो । संगठनद्वारा संघिय संरचनामा कर्मचारी व्यवस्थापनको सन्दर्भमा पटकपटक सम्बन्धित निकायहरुमा आफ्ना धारणाहरु एवं सुझावहरु लिखित र मौखिक रुपमाआएको र समयमा नै कर्मचारी समायोजन हुनु पर्दछ भनेर आवाज बुलन्द गरिएकै हो ।

नेपालको कर्मचारी प्रशासनमा रहेका केही व्यक्तिहरुको नीहित स्वार्थका कारण ‘कर्मचारी समायोजन ऐन, २०७४’ आइसकेको अवस्थामा समेत कर्मचारी समायोजनमा उदासिनता देखाउनु रहस्यमय थियो नै । हाल संघिय संसद समेत छलेर सरोकारवाला कर्मचारीहरुसँग समेत प्रशस्त छलफल नगरी हतारमा लागू गर्न खोजिएको ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ सम्बन्धमा संगठनको ध्यानाकर्षण भएको छ ।
उक्त अध्यादेश सम्पूर्ण कर्मचारीहरुको पेशागत हक, हित संरक्षण गर्न नसक्ने, विभेदकारी, श्रेणीगत र तहगत द्वैध प्रणाली अवलम्बन गरिएको गे्रडबृद्धि र तहगत बढुवाको नाममा शब्दजाल बुनिएको, कर्मचारीमाथि भ्रम सिर्जनागर्ने र जनमानसमा कर्मचारीहरुप्रति वितृष्णा उत्पन्न गराउन उद्दत गरेको देखिन्छ । उच्च पदमा बसेर निम्नस्तरका कर्मचारीहरुलाई मनोवैज्ञानिक त्रास उत्पन्न गरी कर्मचारी समायोजन गर्न खोजिएकाले समायोजित कर्मचारीहरुबाट गुणस्तरीय र प्रभावकारी सेवाप्रवाह हुन नसक्ने हुदा सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा गर्न बाधा पर्ने देखिएकाले उक्त ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ सम्बन्धमा संगठनको निम्नानुसार धारणाहरु सार्वजनिक गरेका छौ ।

१. संसदबाट निर्माण गरिएको ‘कर्मचारी समायोजन ऐन, २०७४’ समेत कार्यान्वयनमा आउन नसकेको अवस्थामा संसदलाई छली सरोकारवाला कर्मचारीहरुसँग छलफल नै नगरी हचुवाको भरमा ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ आएकाले कार्यान्वयन हुनेमा शंका उत्पन्न भएको ।

२. संघीय, प्रादेशिक र स्थानीय तहमा कर्मचारीसम्बन्धी ऐन कानूनहरु कर्मचारी समायोजन अध्यादेशसँगै आउनु पर्नेमा सो नहुँदा कर्मचारीहरुमा सेवा सुविधा, वृति विकास सम्बन्धि अन्यौलता बढेको ।

३. राजपत्रांकित कर्मचारीलाई घुमाउरो पाराले संघ, प्रदेश र स्थानीय तह जहाँ पनि जानपाउने व्यवस्था गरेको र राजपत्र अनंकित, श्रेणीविहीन र प्राविधिक कर्मचारी प्रदेश र स्थानीय पदमा सीमित गरिएको ।

४. समायोजन अध्यादेशमा संघमा श्रेणीगत र प्रदेश र स्थानीय तहमा तहगत प्रणालीमा लग्ने व्यवस्था विभेद्कारी रहेकाले सबै तहमा एउटै प्रणाली अवलम्बन गरिनुपर्ने ।

५. लामो समयदेखि कार्यरत अस्थायी र करार कर्मचारीहरुलाई समायोजन अध्यादेशमा व्यवस्थापनसम्बन्धी विषय उठान नगरिएको ।
६. श्रेणीविहीन कर्मचारीहरुलाई समायोजन गरिँदा २ ग्रेडमात्र थपदिने व्यवस्था गरिएकोमा निश्चित सेवा अवधिकार्य गरेका र आवश्यक शैक्षिक योग्यता पुगेका श्रेणीविहीन कर्मचारीहरुलाई समेत तहगत वा श्रेणीगत प्रणालीमा लगिनु पर्नेमा अध्यादेशले सो सम्बोधन गर्न नसकेको ।

७. समायोजन अध्यादेशको दफा ७.४ मा रा.प.अनकिंत प्रथमबाट छैठांै तहमा समायोजन हुँदा ‘माथिल्लो पदमा बढुवाको लागि आवश्यक पर्ने शैक्षिक योग्यताहासिल गरेको’ हुनुपर्ने भनी व्यवस्थाभएको र अन्य पनि तहहरुमा समायोजन हुँदा शैक्षिक योग्यताको विषय नराखिएकाले समायोजन अध्यादेश कर्मचारीहरुबीच विभेदकारी रहेको ।

८. समायोजन अध्यादेश अनुसार प्रदेश र स्थानीयतहमा समायोजन भएर जाने कर्मचारीको सम्बन्धित तहमामात्र सरुवा र बढुवा हुन सक्ने व्यवस्था विभेदकारी रहेको । यसले कर्मचारीको वृतिविकासमा समेत नकरात्मक असर गर्ने भएकाले तीनै तहमा निश्चित मापदण्डका आधारमा सरुवा, बढुवाको व्यवस्था हुनुपर्ने ।

९. कर्मचारी समायोजन माथिल्लो तहदेखि तल्लो तहसम्म एकमुष्ठ गर्नु पर्नेमाप्रदेश प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव, जिल्ला समन्वय अधिकारी र गाँउपालिका तथा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदमा नेपाल सरकारले संघका कर्मचारी खटाउने व्यवस्था गरी उच्चपदस्थ कर्मचारी समायोजन हुनु नपर्ने र तल्लो तहका कर्मचारी मात्र बाध्यकारी समायोजन गर्ने विभेदकारी व्यवस्था गरेको ।

१०. समायोजनमा गएका कर्मचारीहरुको वृत्ति विकासमा पूर्णतः पूर्णविराम लगाउने कार्य गरिएको र कनिष्ठ कर्मचारीको मातहतमा जेष्ठकर्मचारी रहनु पर्ने अवस्था सिर्जनाहुने देखिएको ।

११. कुनैपनि तहमा कर्मचारी बढुवा भएमा सम्बन्धित प्रदेश वा स्थानीयतहको कर्मचारी हुने व्यवस्था गरिएकाले कर्मचारीको भविष्य अनिश्चित गरिएको ।

१२. संघीय व्यवस्था अनुसार कर्मचारी समायोजन गर्दा कर्मचारीको भावना समेत सम्बोधन गरिनु पर्नेमा सो नभएकाले कर्मचारीको मनोबल गिराउने कार्य गरिएको ।

१३. कर्मचारी समायोजन पूर्वनै संघ, प्रदेश र स्थानीयतहमा बढुवा र अन्तर सेवा प्रतिष्पर्धालाई सुनिश्चित गरिनु पर्नेमा सो नभएको ।
१४. विशेष अवस्थामा स्वेच्छिक अवकाशको प्रावधानहुनु पर्नेमा अध्यादेशले सो कुरा सम्बोधन गर्न नसकेको ।

१५. संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन पश्चात रिक्तहुने पदहरुमा बढुवा एवं अन्तर सेवाको लािगनिश्चित पद निर्धारण गरी प्रदेश र स्थानीय तहका कर्मचारीहरु बाट मात्रपुर्ति गरिने व्यवस्था हुनुपर्ने ।

कर्मचारी समायोजन स्वेच्छिक हुनु पर्दछ । तर यसलाई बाध्यात्मक बनाइनु हुदैन । यो अध्यादेश बाध्यात्मक, विभेदकारी हुनुका साथै विद्यमान निजामति सेवा ऐन, नियमावली र नेपालको संविधानको भावनाविपरीत समेत रहेकाले कानुनी हैसियत समेत गुमाएको अवस्थामा कर्मचारी समायोजन अध्यादेश, २०७५ कर्मचारी मैत्री तथा समय सापेक्ष बनाई कार्यान्वयनमा ल्याउन संगठन जोडदार माग गर्दछ ।

टोपबहादुर बानिया
अध्यक्ष

अमर सिंह वली
महासचिव

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ