काठमाडाैं । कञ्चनपुर बलात्कार र हत्या काण्डमा प्रहरीले निर्दोष व्यक्तिलाई फसाउन खोजेको आरोप लागिरहेकै बेला प्रहरीका अवकाशप्राप्त वरिष्ठ अधिकृत पूर्व एआईजी देवेन्द्र सुवेदीले उच्च राजनीतिक तहबाटै प्रहरी अनुसन्धान प्रभावित पार्न दबाब दिने गरेको खुलासा गर्नु भएको छ ।
सुवेदीले ट्वीटर मार्फत घटना अनुसन्धानमा मुलुकको कार्यकारीबाटै दबाब आउने रहस्य सार्वजनिक गर्नु भएको हो । कञ्चनपुर काण्डमा प्रहरी अनुसन्धानमाथि प्रश्न गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको ट्वीटमा जवाफ दिर्दै पूर्व एआईजी सुवेदीले भट्टराईले नै ६ बर्ष अघि निर्दोष ब्यक्तिलाई फसाउन निर्देशन दिएको आरोप लगाउनुभएको हो ।
भट्टराई प्रधानमन्त्री हुँदा २०६९ मा राजधानीको अनामनगरस्थित कृष्ण प्रसाईँको ५ तले घरमा काम गर्ने ३१ वर्षिया सरस्वती सुवेदी दिउँसो घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीको अनुसन्धानले सो घटना आत्महत्या भएको देखाएको थियो । तर महिला अधिकारकर्मीहरूले प्रहरीको अनुसन्धानमा प्रश्न गर्दै आवाज उठाएपछि तथा परिवारले शव बुझ्न अस्वीकार गर्दै दोर्होयाएर पोस्टमार्टम गर्नुपर्ने बताएका थिए ।
दोस्रो पटक पोस्टमार्टम गर्दा पनि झुण्डिएर मृत्यु भएको नै रिपोर्ट आएको थियो । तत्कालिन प्रधानमन्त्री भट्टराईले आइजीलाई ठाडो निर्देशन दिएर एक एसएसलसी दिँदै गरेका किशोर र उनका बाबुआमालाई फसाएको पूर्वएआइजी सुवेदीले आरोप लगाउनुभएको हो । सो समय प्रहरीको कमाण्ड कुवेरसिंह रानाको हातमा थियो ।