कन्काई पुलमा पप्पुको ३० करोडको ठेक्का खोसियो

कन्काई पुलमा पप्पुको ३० करोडको ठेक्का खोसियो

  • मङ्लबार, मंसिर २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

समयमा काम नसकेपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले झापाको कन्काई नदीको पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनबाट खोसेको छ। चार वर्षमा पूरा गर्नुपर्ने पुल सात वर्ष पुग्दा आधा पनि निर्माण नभएपछि निर्देशनालयले पप्पुलाई ठेक्काबाट बिमुख गराएको हो।

सरकारले ठेक्का अलपत्र पारेको आरोपमा कालोसूचीमा राख्ने प्रक्रिया थालेपछि हुलाकी राजमार्ग कार्यालयले पप्पुलाई दिएको ठेक्का खोसेको हो।

ठेकेदार हरिनारायण प्रसाद रौनियारले कन्काई पुलमा ७ करोड ५० लाख रुपैयाँ पेश्की लगेका थिए। त्यसमध्ये तीन करोड रुपैयाँ पेश्की फिर्ता लिएर पप्पुलाई ठेक्काबाट बिमुख गराइएको हुलाकी राजमार्ग योजना निर्देशनालय कार्यालय इटहरीका प्रमुख विजयकुमार महतोले बताए।

‘समयमा काम नगर्ने, पटक–पटक ताकेता गर्दा पनि बेवास्ता गर्ने, निर्माणको काम जताततै अलपत्र  पारेको देखिएपछि हामीले बैंकबाट पेश्की तानेका हौं,’ महतोले सेतोपाटीसँग भने।

कन्काई नदीको पुल निर्माण ठेक्का पप्पु कन्स्ट्रक्सन र महादेव–खिम्ती जेभीले संयुक्त लिएका थिए।

 

महतोका अनुसार अब ठेक्का पूरा गर्ने जिम्मेवारी साझेदार कम्पनी महादेव–खिम्ती जेभीलाई दिइएको छ। सार्वजनिक खरिद ऐनअनुसार मुख्य ठेकेदार कम्पनीले काम नगरे साझेदार ठेकेदार संस्था कस्ने नियम छ। सोहीअनुसार महादेव–खिम्ती जेभीलाई बाँकी कामको जिम्मा दिइएको हो।

तर, कागजी रूपमा भने पप्पु नै मुख्य ठेकेदार रहन्छ। तर, उसले पुल निर्माणको बाँकी कुनै पनि काम गर्न पाउँदैन, आर्थिक कारोबार पनि।

महतोका अनुसार आधा काम भइसकेको अवस्थामा नयाँ ठेक्का आह्वान गर्न कठिन भयो।

‘लागतको हिसाबले पनि नयाँ ठेक्का आह्वान गर्न बजेट दोब्बर लाग्ने भएपछि पुरानै ठेक्कामा साझेदार संस्थालाई काम लगाइएको हो,’ महतोले भने, ‘कागजी रूपमा पप्पु भए पनि पुल निर्माणमा उसको भौतिक उपस्थिति रहँदैन।’

पप्पुले अहिलेसम्म सम्झौता रकमको ३५ प्रतिशत निकासा लिएको कार्यालयले जनाएको छ। सरकारले कालोसूचीमा राख्ने प्रक्रियासमेत अघि बढाएपछि कन्काई नदीको पुलको बाँकी काम पप्पुलाई लगाउन नसकिएको आयोजनाले जनाएको छ।

पूर्वपट्टि झापा गाउँपालिका–२ र पश्चिमपट्टि गौरीगञ्ज गाउँपालिका–१ पर्ने कन्काईको पुल ०६८ जेठमा सम्झौता भएको थियो। ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र पुल निर्माण सुरू भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ