माल्कोट, २२ मंसिर ।
नेकपाका प्रवक्ता खडगबहादुर विश्कर्मा ‘प्रकाण्ड’ले भ्रष्टाचारीलाई गाउँगाउँबाट खेद्नुपर्ने बताएका छन् । गत साउन गते काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट झुठा मुद्दामा गिरफ्तार भई ४९ दिनको प्रहरी हिरासत बसेर मुक्त भएपछि पहिलोपटक आफ्नो गाउँ कालिकोटको माल्कोटस्थित सेरापाटामा शनिबार पुगेका प्रकाण्डले भ्रष्टचारी र दलाललाई गाउँगाउँबाट खेद्नुको विकल्प नरहेको बताए ।
केपी–प्रचण्डको सरकारले सिंहदरबारमा रहेका दलाल र भ्रष्टचारीलाई गाउँ टोलसम्म पुर्याएर नागरिकलाई चरम दुःख र शोषण गरेको बताउँदै त्यसलाई जनकारवाही गरेर खेद्ने नीति पार्टीले लिएको बताए । सेरापाटामा उनलाई सयौं संख्यामा उपस्थित स्थानीयले प्रकाण्डलाई गाजाबाजासहित भब्य स्वागत गरेका थिए ।
उनको घर कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ माल्कोट सेरापाटा हो । उनलाई स्वागत गर्ने क्रममा स्थानीय भावुक बन्दै अंकमाल गरेका थिए । स्वागतसँगै ‘संसदीय व्यवस्था खारेज गर, वैज्ञानिक समाजवाद लागू गर’ नारा लगाएका थिए ।
स्वागतपछि स्थानीयलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुविरुद्ध एकपटक एकजुट भएर निर्णायक संर्घष गर्ने र त्यसनिम्ति जनताको चाहिएको बताए । अन्तिम धक्काका लागि साथ दिन तयारी अवस्थामा रहन पनि स्थानीयसँग अपिल गरे । वर्तमान सरकारलाई ‘सामाजिक दलाल सरकार’को संज्ञा दिँदै यो शासन व्यवस्था रहेसम्म देश स्वाधीन र नागरिक अधिकार सम्पन्न हुन नसक्ने नेता प्रकाण्डको विचार थियो ।
हिरासतको बसाईका क्रममा राज्यले आफूलाई दुईदुई पटकसम्म हत्या गर्ने योजना बनाएको र त्यसलाई आफूले असफलसिद्ध बनाइदिएको खुलासा समेत प्रवक्ता प्रकाण्डले गरे । हिरासतको अनुभवलाई आफूले नेपाली क्रान्तिको सेवा गरेर यसलाई सम्पन्न मेहनतसाथ प्रयोग गर्ने उनको भनाई थियो । नेकपाले अगाडि सारेको वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लडाईँले दलाल संसदीय व्यवस्था ध्वस्त पारेर छाड्ने जिकिर उनको छ ।
यसअघि यही मङ्सिर १९ गते कालिकोट सदरमुकाम मान्मामा आयोजित विशाल जनशभा सम्पन्नपछि शनिबार उनी सेरापाटा पुगेका हुन् । यसबीचमा प्रवक्ता प्रकाण्ड नेकपाको पहलमा खनिएको खुलालु-माल्कोट शहिद मार्गको समेत अवलोकन गरेका थिए । प्रकाण्ड जनयुद्धका सहिद परिवार सदस्य हुन् ।
स्वागत कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं कर्णाली ब्यूरो ईन्चार्ज एटम विसी, केन्द्रीय सदस्य आदर्श, जिल्ला ईन्चार्ज समर शाही, क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे, शहिद मार्ग निर्माण समितिका अध्यक्ष बलबहादुर बुढा ‘अविचल’ लगायत उपस्थित थिए । उपस्थित समुदायले आफूहरुलाई प्रचण्ड–बाबुराम–बादलहरुलाई पाठ सिकाउने गरी जारी क्रान्तिलाई सेवा गर्ने प्रतिवद्धता जनाए ।
नेकपाले आउँदो सोमबार माल्कोटमा जनसभा आयोजना गर्ने भएको छ । सोही बेला सामाना साँस्कृतिक परिवारले बेजोड साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ ।


