नवलपुर, मंसिर १९ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मिसन साहसी नामक राष्टव्यापी अभियानमा जुटेको छ । यसै शिलसिलामा विद्यार्थी परिषद्ले नवलपुरको गैडाकोटबाट यस अभियानको सुरुवात गरेको छ । मुलुकमा पछिल्लो समय महिलामाथि बढदै गएको बलात्कार, हत्या, हिंसा जस्ता घटनाको न्यूनिकरणको पहल स्वरुप यस अभियानको सुरुवात गरिएको हो ।
नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी अभियान भन्ने मुल नाराका साथ विद्यार्थी परिषद्ले नवलपुरको गैडाकोटबाट अभियानको सुरुवात गरेको हो ।नारीहरुको आत्मरक्षा र आत्मविश्वा बढाउने उद्देश्यका साथ उक्त अभियानको आयोजना गरिएको विद्यार्थी परिषद्ले जनाएको छ । गैडाकोटमा गत मंसिर ११ गते बाट सुरु गरिएको उक्त अभियान एक सातासम्म चलेको थियो ।
एक साताको अवधिमा गैडाकोटमा रहेका विभिन्न विद्यालय तथा क्याम्पसका ७ सय भन्दा बढी छात्राहरुलाई आत्मरक्षा र आत्म विश्वासका लागि अभिमुखिकरण कार्यक्रमका साथै मार्सल आर्टका विभिन्न टेक्निकहरु सिकाइएको थियो । उक्त अवधिमा छात्राहरुलाई पार्वती परियार, मिलन थापा, निराजन कुमाल, चुडामणी चौधरीलाई सम्मान स्वरुप स्मृति चिह्न समेत प्रदान गरीएको थियो ।
हिजो एक कार्यक्रमका बीच समापन कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् गैडाकोट नगर समिति अध्यक्ष बिनोद पौडेल, गैडाकोट नगर उपप्रमुख विष्णुकुमारी कँडेल, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, राष्ट्रिय सह–संगठन सचिव रमेश कंडेल, केन्द्रिय सदस्य वर्षा सापकोटा, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोक बहादुर जिसी, विद्यार्थी परिषद्का गैडाकोट नगर सचिव नारायण तिमील्सना लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मिसन साहसी जस्तो कार्यक्रम आजको आवश्यकता बनेको समेत बताएका थिए । उनीहरुले जुन घर, जुन समाज, जुन समुदायमा नारीको सम्मान हुदैन त्यो समाज, राष्ट्र सभ्य हुन नसक्ने बताएका थिए ।

