ढोरपाटन नगरपालिकाकाे नयाँ प्रयासः कोदो फलाए पुरस्कार दिइने

ढोरपाटन नगरपालिकाकाे नयाँ प्रयासः कोदो फलाए पुरस्कार दिइने

  • सोमवार, मंसिर १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

बागलुङ, १७ मङ्सिर  । 

कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ ।

सोको लागि नगरसभाले चालू आवमा रु १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । उहाँका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् ।

नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । “वैज्ञानिक हिसाबले रकम बाँड्छौँ” नगरप्रमुख नेपालीले भन्नुभयो, “बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।” खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ ।

कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताउनुभयो । गाउँको जग्गा बाँझिदै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । “बसाइँसराइ बढ्दो छ, खेती घट्दै छ”, उहाँले भन्नुभयो, “परम्परागत खेती जोगाउन सानो प्रयास थालेका हौँ ।”

मानिसले कोदोका परिकारमा रुचि देखाउन थालेकाले मकै, कोदोजस्ता बाली संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । स्वस्थ शरीरका लागि कोदोका परिकार उत्तम मानिने हुँदा शहरी क्षेत्रमा पनि माग छ । नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उन्नत बीउ, मल, कृषियन्त्र पनि उपलब्ध गराउनेछ ।

किसानले पुरस्कार रकम कोदो बाली प्रवद्र्धनमै खर्च गर्नुपर्नेछ । पछिल्लो समय कोदो बालीको उत्पादन घट्दै गएको छ । अन्य बालीको तुलनामा उत्पादन कम हुने र लागत बढी लाग्ने हुँदा कोदोमा किसानको आकर्षण घटेको हो ।

कोदोबाट रोटी, ढिँडोजस्ता परिकार बनाइन्छ । उच्च पहाडी र मध्यपहाडी क्षेत्रमा कोदो खेती गरिन्छ । तराईका कतिपय जिल्लामा समेत कोदो खेती गर्न थालिएको छ । परम्परागत बाली संरक्षणमा नगरपालिकाको गरेको पहलप्रति किसान खुशी छन् । कृषिमा अनुदान बढाउनुपर्ने र यान्त्रीकीकरणमा सघाउनुपर्ने किसानको माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी