काठमाडौं, १६ मंसिर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २, खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल नियन्त्रणमा लिई कारवाही गर्नुपर्ने मागले मुलुकका जिल्ला, प्रदेश र केन्द्रीय राजधानीसमेत तताइरहेको बेला आजबाट देशव्यापी बनेको छ ।
सरकारले बालिका पन्तको हत्यारालाई पत्ता लगाउन र कारवाही गर्न नसकिरहेको जटिल परिस्थितिबीच आजबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पहल लिई आन्दोलनको नेतृत्व गरेको छ । यससँगै सिंगो देश बालिका पन्तको हत्यारालाई चाँडो पत्ता लगाउने र कारवाहीको दायरामा ल्याउन सरकारमाथि राजनीति तहबाटै भीषण दबाबा पर्न गएको छ । गत साउन १० गते बिहान ११ बजे छिमेकी दिदीनी सुनिता बमको घरमा किताब च्यापी साइकल लिएर गएकी निर्मलालाई भोलिपल्ट बिहान उज्यालोमा केहीपर उखुबारीमा बलात्कारपछि हत्या गरिएको नग्न अवस्थामा मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि हत्याको चौतर्फी विरोध भयो । उनको मृत्यु बलात्कारपछि हत्या गरिएको पुष्टि शवको डीएनए परीक्षणबाट भएको थियो । सोही अनुरुप गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ ७ गते छानबिन समिति बनाइएकोमा समितिले निर्मलाको मृत्यु बलात्कारपछि हत्या भएको पुष्टि गरेको थियो ।
अनुसन्धानमा प्रहरीले गम्भीर लापरवाही गरेको उल्लेख गर्दै घटनाका प्रमाणहरु जोगाउनेतर्फ गम्भीर ध्यान नदिएको जनाइएको थियो । सोही अनुरुप हत्यारालाई तत्काल पत्ता लगाई कारवाही गरेर समाजिक सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने सुझावसहित गृहमन्त्रीलाई रामबहादुर थापा ‘बादल’लाई भदौ ३० मा प्रतिवेदन बुझायो ।
तर निर्मलाको हत्या भएको आज चार महिना ५ दिन बितिसक्दा पनि सरकारले दोषीलाई पत्ता लगाउने र कानूनको दायरामा ल्याउने काम गर्न नसक्दा विरोधका आवाज देशव्यापी फैलिन पुगेको छ । सरकारको बेवास्ताकै कारण घटनालाई संयुक्त राष्ट्रको मानवअधिकार युनिटको समेत ध्यानकर्षण भएको छ ।
अर्कोतर्फ सरकारले निर्मलाको हत्यार पत्ता लगाउने र सार्वजनिक गर्नुपर्ने माग निरन्तर उठिरहेका बेला र नियमित रुपमा कञ्चनपुरदेखि काठमाडौंका सडकहरुमा प्रदर्शन भइरहेका बेला शुक्रबार र शनिबार काठमाडौंको मइतीघर मण्डलमा हत्यारा सार्वजनिक गर्न मागसहित निर्मलाको पक्षमा ‘सरकार भेटियो तर न्याय भेटिए’ अंकित पोस्टर टाँस्दै गरेको युवायुवतीमाथि निर्मम दमन र प्रहरीले नै पोस्टर च्यात्ने काम भएपछि देश साँच्चै तातेको अवस्था बन्यो । आजै मात्र माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका महिलाहरुमाथि प्रहरीले दमन र हातपात गरेको देखेर युवाहरुले सरकारविरुद्ध आक्रोश पोखे । सोही क्रममा एक युवाले हातपात नगर्न आग्रह गर्दा तीन युवालाई प्रहरीको एक टोलीले निमर्म दमन गर्दै लछापछार गर्दै बिजुलीको पोलमा टाउको ठोकाउने कोशिस गरेको र शरीरको कपडा धुजाधुजा पारिदिएको दृष्यले परिस्थितिलाई अर्कै मोडमा पुर्याउने जटिलतालाई प्रकट गरेको छ । ती युवाले अधिकार माग्दा सरकारले दमनको भाषा बोलेको भन्दै ‘यसरी बाँच्नु भन्दा मर्नु नै बेस’ भनेर चरम निरासा व्यक्त गरे । अर्को प्रसंगमा ‘यस्तो देशमा के बस्ने’ भनेर पलायन कारक सरकार हो भन्ने चित्र दिएका छन् ।
हत्यारा पत्ता लगाउन सरकार असफल बन्दै गइरहेको बेला गत मंसिर ८ गते पार्टी पुनर्गठनको पाँचौ वर्षगाँठमा नेकपाले केन्द्रीय समितिद्वारा काठमाडौंको प्रदर्शनी मार्गमा आयोजित विशाल जनसभामा मुख्य वक्ता नेकपा प्रवक्ता प्रकाण्डले निर्मला पन्तको हत्यारा ‘अब नेकपाले पत्ता लगाउने र जनतामाझ् ल्याएर कारवाही गरेर देखाउने’ उद्घोष गरेका थिए । सोहीबेला उनले ‘अब हत्यारालाई कारवाही नेकपाले बाहेक कसैले नसक्ने’ सार्वजनिक भाषण गरेर सरकार र सुरक्षा निकायलाई खुला चुनौति दिएका थिए ।
सोही अनुरुप आज नेकपाले देशैभर जिल्ला पार्टी र ब्यूरो कमिटीको आयोजनामा विरोध प्रदर्शन र कोणसभा गरे । विरोध र्याली नेतृत्व र कोणसभामा सम्बोधन नेकपा जिल्ला, ब्यूरा तथा केन्द्रीय नेतहरुले गरेका छन् । विरोध प्रदर्शनको आयोजनाको नेतृत्व अखिल (क्रान्तिकारी)ले चितवन, झापा, रुपन्देहीलगायत दर्जनभन्दा बढी जिल्लामा गरेको छ । र्यालीमा विद्यार्थी, गृहिणी, वृद्धवृद्धा, युवाहरुले स्वस्फुर्त रुपमा व्यापक मात्रामा सहभागिता जनाए ।
निर्मलाको गृहजिल्ला कञ्चनपुर नेकपाका पोलिटब्यू्रो सदस्य ओमप्रकाश पुनले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउनेबारे पार्टीले अनुसन्धान शुरु गरिसकेको र छिट्टै जनतामाझ् उभ्याउने बताए । सरकारको भर पर्दा जनता असुरक्षित र भोकै–नांगै परेर जीवन बर्बादीको दिशामा लागेको बताउँदै वर्तमान दलाल संसदीय व्यवस्था भत्काएर जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प नरहेको बताए ।
त्यस्तै काठमाडौं उपत्यका विशेष ब्यूरोको आयोजना काठमाडौंमा आजै विरोध र्याली र कोणसभा सम्पन्न भएको छ । र्यालीपछि शान्तिबाटिका आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’ले सरकारमा बस्ने मान्छेहरुले नै निर्मला पन्तको बलात्कारी र हत्यारालाई जोगाइरहेको बताए । ‘सरकारमा बस्ने मान्छेहरुकै नातेदार त्यो घटनामा संलग्न छन् । त्यसैले सरकार मौन बसेको छ’ आजादले भने ‘प्रधानमन्त्री केपी ओलीज्यू, अब निर्मला पन्तको हत्यारालाई कारवाही तपाईँले कारवाही गर्न सक्नुभएन, जोगाउनतिर लाग्नुभो, अब जनताको साथ लिएर नेकपाले गर्छ । त्यो बेला हेर्नुहोला ।’
नेकपाले आवेगमा आएर घटनाको अनुसन्धान र कारवाहीको कुरा नगरेको उनको भनाई थियो । दलाल संसदीय व्यवस्था कायम रहिन्जेल महिला अधिकारको गयारेन्टी र चेलीहरुको सुरक्षा हुन नसक्ने बताए । कोणसभामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष बन्धु चन्द, अखिल (क्रान्तिकारी)का चिन्जिीवि ढकाललगायत नेताहरुको उपस्थिति रहेको थियो । ‘निर्मला पन्तको हत्यारालाई कारवाही गर, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरौं, नेकपा जिन्दावाद’ नारा लेखिएको व्यानर, प्लेकार्ड र पार्टी र विद्यार्थी संगठनको झण्डा बाकेर प्रदर्शनमा उत्रिएका थिए ।
त्यसैगरी नेकपा कोशी ब्यूरोले विरोध र्याली सम्पन्न गरेको छ । नेकपा मोरङले विराटनगरमा, इलामले इलाममा, झापाले बिर्तामोडमा, सुनसरीले इटहरीमा, सर्लाहीको हरिवनाम, मकवानपुरले हेटौडामा, चितवनले भरत चौबिसकोठीमा विरोध र्याली र कोणसभा सम्पन्न गरेको छ ।
त्यस्तै रुपन्देहीले बुटवलमा, परासीले परासीमा गुल्मीले गुल्मीमा, पाल्पाले तानसेनमा, सुर्खेतले विरेन्द्रनगरमा, सल्यानले सदरमुकाममा, दाङले घोराही र तुल्सिपुरमा, बर्दियाले गुलरियामा, कास्कीले पोखरामा बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाई सार्वजनिक गर्न र कारवाही गर्न सरकारसँग माग गरेको छ । कोणसभामा बोल्ने वक्ताहरुले हत्यारालाई सरकारले नै पत्ता लगाएर कारवाही गरेको देख्न आफूहरुले चाहेको तर त्यो सम्भावना नदेखेपछि जनताको साथ लिएर अगाडि बढेको बताए ।
नेकपाले आइतबार देशव्यापी गरेको विरोध र्याली र कोणसभालाई तस्बीरमा यसरी हेरौं ।


































































