काठमाडौं, १४ मंसिर ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ महिना बित्दा समेत सरकारले हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै विरोधमा राजधानीमा प्रदर्शन गरेका छन् ।
शुक्रबार दिउँसो युवायुवतीहरु ठूलो संख्यामा जम्मा भई माइतीघर मण्डलामा निर्मलाको तस्बीर र न्यायको मागसहित लेखिएको प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरे । प्रदर्शनकारीले निर्मलाको हत्यारा तत्काल पत्ता लगाएर पक्राउ गर्न जोडदार माग गरे । हत्यारालाई योजनामै लुकाएर उम्काउन खोजेको भन्दै सरकारको विरोधमा चर्का नारा लगाए ।
उनीहरुले निर्मलाको तस्बीरको पोस्टर बनाई त्यसलाई बिजुलीको पोल र सडकबारमा टाँसे । सोही क्रममा प्रहरीले एक दर्जनभन्दा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा ३ युवायुवती छन् । प्रितम सुवेदी, सिर्जना विश्वकर्मा, भुवन राउत, सौरभ न्यौपाने, छवि पंगेनी, अशिना बराल, स्मृति श्रेष्ठ, दर्शन चन्द, देवीश्री पन्तलगायत गिरफ्तारीमा परेका छन् । निर्मलाको हत्यारा पत्ता नलागेसम्म र पीडित परिवारले न्याय नपाएसम्म विरोध प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुको भनाई छ ।
‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर छातीमा टाँसेर विरोध प्रदर्शन गरेका थिए । सोही विषयमा भोलिदेखि धनगढी, झापा, पोखरा, विराटनगरलगायतका विभिन्न ठाउँहरुमा प्रदर्शन हुँदैछन् । नेकपाले पनि निर्मला पन्तको हत्यारालाई सरकारमा बस्नेहरुबाटै संरक्षण दिइरहेको भन्दै विरोधमा प्रदर्शन गर्दैछ ।
गत साउन १० गते बिहान १० बजे साथी सुनिता बमको घरमा होर्मवर्क गर्न गएकी निर्मलाको भोलिपल्ट केही परको दूरीमा नग्न अवस्थामा मृत अवस्थामा फेला परेको थियो ।
तस्बीरः रातोपाटी