शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको दोस्रो खेलमा थ्री स्टार क्लब विजयी भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले एनआरटीलाई २–० ले पराजित गरेको हो।
निकै प्रतिष्पर्धात्मक रहेको खेलमा थ्री स्टारले अग्रता बनाउन खेलको ७५ औं मिनेट सम्म कुर्नु पर्याे। थ्री स्टारका मार्टिन्सलाई विपक्षी टोलीका आशीष बानले डिबक्स एरियामा लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो।
प्राप्त अवसरलाई रन्जित धिमालले सदुपयोग गर्न खोजेपनि एनआरटीका गोलरक्षक अजित प्रजापतीले बचाएका थिए तर रिबाउन्डमा रन्जितले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। थ्री स्टारका लागि दोस्रो गोल मार्टिन्सले गरे।
सुनिल बलले दिएको पासमा मार्टिन्सले इन्जुरी समयमा गोल गर्दै आफ्नो टोलीको जित पक्का गराएका थिए। जितसँगै थ्री स्टारको ४ खेलबाट ९ अंक भएको छ। थ्रीस्टार अंक तालिकामा दोस्रो स्थानमा रहेको छ।