एम्बुलेन्समा भैँसी नअटेकाे भन्दै पर्याे अख्तियारमा उजुरी

एम्बुलेन्समा भैँसी नअटेकाे भन्दै पर्याे अख्तियारमा उजुरी

  • मङ्लबार, मंसिर ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो ।

पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । एम्बुलेन्स खरिद गर्दा डा. रामकुमार मण्डल अस्पतालका प्रमुख थिए ।

पाठेघर बटारिएर गाईभैँसीले बच्चा जन्माउन नसके शल्यक्रियाका लागि अस्पताल ल्याउन एम्बुलेन्स खरिद गरिएको हो । यस्तै, प्लास्टिक, किला, काँटी खाएका पशुलाई पनि एम्बुलेन्समा राखेर शल्यक्रियाका लागि भेटेरिनरी अस्पताल ल्याउनुपर्ने हुन्छ । अस्पतालका पशु चिकित्सकहरू भेटेरिनरी एम्बुलेन्स अत्यावश्यक भए पनि खरिदमा अनियमितता भएको बताउँछन् ।

अस्पतालमा भदौ महिनामा एम्बुलेन्स आइपुग्यो । तर, भुक्तानी भने त्यसअघि नै भएको खुलेको छ । असार मसान्तभित्रै सबै भुक्तानी भएको अस्पताल प्रमुख थापाले बताए ।

अस्पतालले एम्बुलेन्स भन्दै मापदण्डविपरीत आइचर कम्पनीको मिनी ट्रक खरिद गर्‍यो । जब एउटा भैँसी पनि अटाएन, समस्या सुरु भयो । खरिदअघि ९० हर्सपावरको हुनुपर्ने स्पेसिफिकेसन बनाइए पनि एम्बुलेन्स ६० हर्सपावरको मात्रै खरिद गरिएको छ । दुई नम्बर गेयरमा पनि नतानेपछि एक नम्बरमै चलाउनुपरेको अस्पतालका कर्मचारीहरू बताउँछन् ।

प्रयोगमा ल्याउनै समस्या भएपछि एम्बुलेन्स वर्कसप पठाएर ठोकठाक गरिएको छ । हालका अस्पताल प्रमुख डा. बलराम थापा आफू नेतृत्वमा आएपछि नै दुईपटक वर्कसपमा पठाएको बताउँछन् । ‘बिरामी भैँसी अस्पताल ल्याउन सम्भव नै नभएपछि मर्मतका लागि दुईपटक वर्कसप पठायौँ,’ थापाले भने, ‘ग्राउन्ड ह्यान्डलिङ पनि मापदण्डअनुसार नहुँदा जमिनमा धसिने भएकाले माथि उठाउन लगाइयो । हेडलाइट, गियरलगायतमा पनि समस्या छ ।’

मान्छेका डाक्टरले भेटेरिनरी एम्बुलेन्सको स्पेसिफिकेसन बनाएकाले समस्या भएको अस्पताल प्रमुख थापाको आरोप छ । सो एम्बुलेन्समा भेन्टिलेटर, मोनिटर, अक्सिजन सिलिन्डरलगायत अन्य उपकरण राखिएको र यी सामान एम्बुलेन्सभित्र पशुका लागि फिट गर्न सम्भव नहुने उनी बताउँछन् । ‘मैले हेरेँ, त्यस्ता चिज एम्बुलेन्समा होइन, अस्पतालमा चाहिँ काम आउन सक्छन्,’ उनले भने, ‘भैँसी राम्ररी फर्किनसमेत नसक्ने गाडीमा कसरी भेन्टिलेटर लगाउनु हुन्छ ?’

नया पत्रिका दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी