काठमाडौं, १० मंसिर ।
अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा सोमबार सम्पन्न भएको छ । सम्मेलनले शोभा दुलाललाई अध्यक्षमा निर्वाचित गरेको छ । केन्द्रीय समितिको आकार २९ सदस्यीय रहने गरी केन्द्रीय समिति चयन गरेको छ ।
सम्मेलनबाट अन्य पदाधिकारीहरुमा उपाध्यक्षद्वयमा अशोक सुवेदी, लम्जेल ‘संघर्र्षशील, महासचिवमा खोमा तरामु मगर, सचिवमा मुक्तान थेवा र कोषाध्यक्षमा प्रतिवद्धलाई निर्वाचित भएका छन् ।
सम्मेलनको उद्घाटन नेकपाका केन्द्रीय सदस्य एवं उपत्यका विशेष ब्यूरो ईन्चार्ज माइला लामाले गरेका थिए । उद्घाटन गर्दै लामाले अब माक्र्सवादी लेखकहरूले नेकपाले लिएको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्तिको अभिभारा पूरा गर्न भूमिका निभाउनुपर्ने बताए । पिछडिएका, उत्पीडित तथा सर्वहारा वर्गको साँस्कृतिक मोर्चालाई थप बलियो र संघर्ष बनाउने कलमलाई तिखार्नुपर्ने जिम्मेवारी लेखकहरुको रहेको उनको भनाई छ । ‘अब वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागि कलम चलाउनुको विकल्प छैन’ लामाले भने ।
इच्छुकको सपना पूरा एकीकृत जनक्रान्तिले गरेरै छाड्ने उनको विश्वास छ । लेखकहरूले संठन निर्माणका साथै क्रान्तिकारी लेखनका माध्यमबाट दलाल पुँजीवादी सत्तालाई चुनौती दिनुपर्नेमा उनको जोड थियो । लेखकहरूमा दम्भ, अहंकार र आडम्बर बढे पलायनको बाटोमा जाने भएकाले जनतासामु नम्र भएर सिर्जना पस्कनुपर्ने उनको जोड थियो । सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवम् पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधारले माक्र्सवादी लेखकहरु मात्र इमान्दार हुने भएकाले जनताको मर्म र चिन्ताबारे कलम चलाउनुपर्ने बताए ।
महासंघका निवर्तमान महासचिवसमेत रहेका सम्मेलन आयोजक समितिका सदस्य खेम थपलियाले विधान र प्रतिवेदन प्रस्तुत गरेका थिए । नवनिर्वाचित अध्यक्ष दुलालले संघले महासंघ र पार्टीले लिएको लक्ष्य पूरा गर्न कुनै कसरत बाँकी नराख्ने बताइन् ।
केन्द्रीय सदस्यहरूमा डा. शिवशंकर बस्याल, प्रसिद्ध शर्मा, भीम भारती, करन दयाल, मणि शर्मा, सीता विक ‘सम्झना’, सिद्ध खड्का, जानकी दहित, प्रदीप जैसी, पूर्ण इन्फादा, अम्बिका पाठक, एस.के. श्रेष्ठ, बीपी विद्रोही, गणेश लोहार, ध्रुवलाल शर्मा, युवराज नास्तिक, ममता सुर्खेती, रामप्रसाद खनाल, प्रतिमा गहतराज, कुमार धामी, ज्ञानु के.सी. र अम्बिका राई निर्वांचित भएका छन् । संघ जनसाँस्कृतिक महासंघको आंगिक संगठन हो भने महासंघ नेकपा निकट जनवर्गीय संगठन हो ।
सम्मेलनले अश्लील साहित्य प्रकाशन तथा नेपाल र संसारभरका माक्र्सवादी लेखकमाथि भएको दमन बन्द गर्न, भारतीय जेलमा राखिएका बरबर राव, गौतम नौलखालगायत सबै स्रष्टाहरूलाई मुक्त गर्न, सरकारी ढुकुटी खर्च गरी गठन गरिएका प्रज्ञाप्रतिष्ठान, साझा प्रकाशनलगायत स्थानमा भएको भ्रष्टाचार, अनियमितता अन्त्य गर्न, भ्रष्टहरूमाथि कारवाही गर्न, प्रज्ञा प्रतिष्ठानमा राखिएको भारतीय झन्डा तत्काल हटाउन, स्रष्टाहरूमाथि लादिएको एनजीओकरण, आईएनजीओकरण, आदर्शवादीकरण अन्त्य गर्न पनि माग गरेको छ ।