झापाकाे लालझोडामा आगलागी, मृत्यु भएका चारै जनाको शव एउटै खाटमा

झापाकाे लालझोडामा आगलागी, मृत्यु भएका चारै जनाको शव एउटै खाटमा

  • सोमवार, मंसिर १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

भद्रपुर, १० मङ्सिर।

झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ । आज बिहान शवको अवशेष सङ्कलन गरेर प्रहरीले शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पु¥याएको छ ।

आइतबार राति लक्ष्मण खनालको घरमा आगलागी हुँदा परिवारका सबै चार जना ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा (सुप्रिया) खनाल र चार महिने शिशु टीकाराम खनालको सुतेको अवस्थामै जलेर मृत्यु भएको थियो ।

आज बिहान चारै जनाको जलेको शवको अवशेष सङ्कलन गरेर भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता नायव प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
झापा क्षेत्र नं ४ का सङ्घीय सांसद एलपी साँवा, प्रदेश सांसद झलकसिंह दर्लामी, नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाम्सुहाङलगायतको सरकारी टोली आज बिहान घटनास्थल पुगेको थियो ।

घटनास्थलमा भेटिनुभएका सङ्घीय सांसद साँवाले घटनाबाट आफू स्तब्ध भएको बताउनुभयो । प्रदेश सांसद झलकसिंह दर्लामीले राति एक्कासी घरमा चारैतिरबाट आगो फैलिएपछि छिमेकीले थाहा पाएको र गौरादहबाट आएको दमकलले आगो निभाएपछि मात्र एउटै खाटमा चार जनाको शवको अवशेष भेटिएको जानकारी दिनुभयो ।

खाना खाएर सुतिसकेपछि घरमा एक्कासी आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको स्थानीय दुर्गा नेम्वाङले बताउनुभयो । स्थानीयवासीले राति नै प्रहरी र दमकललाई खबर गरेका थिए । गौरादहबाट १५ मिनटभित्रै आएको दमकलले आगो नियन्त्रण गरेको थियो ।

उहाँका अनुसार घरमूली लक्ष्मण खनाल राति ९ बजेसम्म खेतमा ट्र्याक्टर जोतेर घर आएको र खाना खाएर परिवारसँगै सुतेको अवस्थामा आगलागी भएको थियो ।

मृतक खनाल आफ्नै ट्र्याक्टर चलाउनुहुन्थ्यो । घर अगाडि धान दाउनी गर्ने थ्रेसर मेसिन राखिएको थियो । आगलागीमा घर पूरै जलेको छ भने थ्रेसर आंशिकरूपमा जलेको छ । प्रहरीले घरका सबै सदस्यको मृत्यु भएको र छिमेकीले आगो फैलिइसकेपछि मात्र थाहा पाएको हुँदा आगलागी कसरी भयो भन्ने तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले घटनाको अनुसन्धान भइरहेकोसमेत बताउनुभयो ।

आगलागीमा विष्फोट भएको ग्यास सिलिन्डरको टुक्रा उछिट्टिएर छिमेकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ