काठमाडौं, मंसिर ९ ।
लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने मुल नाराका साथ आजबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैगिक समानता कायम गर्न नेपालमा २०५४ साल देखि लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरिदै आईएको छ ।
संघीय सरकारका मन्त्रालय, सातैवटा प्रदेश सरकार, सबै जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम गरी सामाजिक सचेतना अभियान सञ्चालन गर्ने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जारी एक सन्देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले महिला हक, अधिकारको संरक्षणमा ठुलो उपलब्धि हासिल गरेको उल्लेख गर्नुभएको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणा १९४८, राजनीतिक तथा नागरिक एवं आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धि अनुवन्ध १९९६ र महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धी १९७९ को नेपाल पक्ष राष्ट्र भएकोले यी महासन्धीको सरकारले पूर्ण पालना गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले महिला बिरुद्ध हुने सबै किसिमका हिंसाप्रति शून्य सहनशिलताको नीति अवलम्बन गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।