नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठन दिवसको सन्दर्भमा देशैभर कवि गोष्ठी सम्पन्न भएको छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी व्युरोको आयोजनामा बुटवलमा बृहत् कवि गोष्ठी सम्पन्न भएको छ । कविहरुले कविता मार्फत देश भयानक अवस्थाबाट गुज्रिरहेको भन्दै वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।
नेकपाको पार्टी पुनर्गठन दिवसको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत देशैभरि गरिएको कार्यक्रमको सन्दर्भमा बुटवलमा भएको कविता गोष्ठीमा कविहरुले देशमा व्याप्त भ्रष्टाचार, महंगी, जनघात, राष्ट्रघात विरुद्ध सचेत नागरिकहरु मौन बस्न नहुने बताएका छन् ।
कविता गोष्ठीमा वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक दिल साहनीले राष्ट्रियताको दृष्टिकोणले देश गम्भीर अवस्थामा रहेको भन्दै देशभक्त लेखक साहित्यकारहरुले खवरदारी गर्नुपर्ने बताए । लेखक साहनीले साहित्य र राजनीति एकअर्कामा अन्तर सम्बन्धित रहेको भन्दै विचारविहिन कला मृत साहित्य हुने बताए । उनले सुन्दर कला र विचारको समायोजनबाट सुन्दर साहित्य हुने भन्दै प्रगतिवादी आन्दोलनमा कृष्णसेन इच्छुक यसको उदाहरण भएको बताए । उनले अहिलेको अवस्थामा साहित्यकारहरुले गरिब दुःखीहरुको जीवन फेर्ने आन्दोलनको पक्षमा साहित्य सिर्जना गर्नुपर्ने बताए ।

कविता गोष्ठीमा साहित्यकारहरु गिरि श्रीस मगर, दीपक विश्वकर्मा, ज्ञानु केसी, मीन राना, गुरुप्रसाद कुमाल बुलबुल, पारस राहादी मगर, रुपा बुढा मगर, शिव डुम्रे, प्रकाशसिंह राना मगर, इन्दु ओली, ताराप्रसाद श्रेष्ठ लगायत २१ जनाले कविता प्रस्तुत गरेका थिए भने क्षितिज परिवारका कलाकार आत्मा र अखिल नेपाल लेखक संघ रुपन्देहीका संयोजक विहानी मगरले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि कृष्णसेन इच्छुकको कविता समेत वाचन गरिएको थियो ।

अन्तर्राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रममा यसको उद्देश्यवारे जानकारी गराउँदै महासङ्घका केन्द्रीय सदस्य एवं लुम्बिनी व्युरो संयोजक खोमा तरामु मगरले पार्टी पुनर्गठन दिवसलाई देशव्यापी उत्सवको रुपमा मनाउने निर्णय अनुसार कविता गोष्ठी गरिएको भन्दै दलाल पुँजीवादी संस्कृतिका विरुद्ध सम्पूर्ण देशभक्त कलमजीवी एवं संस्कृतिकर्मीहरु एक हुनुपर्ने बताए ।