काठमाडौं, ६ मंसिर ।
क्रान्तिकारी पत्रकार संगठन, नेपालले संगठनको नाम जोडेर केही ‘अराजक’ व्यक्तिहरुले बद्नाम गर्ने र संगठनको नाम भजाएर प्रस्तुत गरिरहेको भन्दै त्यस्ता समूह तथा व्यक्तिको भ्रममा नपर्न सबैमा आग्रह गरेको छ ।
संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंमा हुने बृहत आमसभालाई सफल बनाउन सहयोगका लागि सम्पूर्ण मिडियाकर्मी, नागरिक समाज, बुद्धिजीवि, अधिकारकर्मीलगायत आम जनसमूदायलाई आग्रह गरेका हुन् ।
संगठनको नामबाट नक्कली र भ्रामक समाचार दिएर हल्ला फैलाइएको भन्दै यही मंसिर ८ गते नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको र्याली र जनसभाबारेसमेत गलत समाचारहरु ती व्यक्तिहरुबाट दिइरहेको औल्याउँदै त्यस गलत कार्य नदोहोर्याउन चेतावनी दिएका छन् । अराजक व्यक्तिहरु अहिले पनि संगठनको नाम लिएर विभिन्न संचार गृह र मिडियाकर्मीसामू धाइरहेको सूचना आएको जनाउँदै त्यसबाट सचेत संचारकर्मीहरुसँग आग्रह गर्दै विज्ञिप्तमा संगठनको अध्यक्ष डुम्रे। महासचिव विष्ट, सचिव सिर्जना तिम्सिना र कोषाध्यक्ष जानकी चौधारी लगायत पदाधिकारीसहित केन्द्रीय टिम संगठनको दैनिक कार्य र ८ गतेको नेकपाको प्रचारप्रसारमा खटिइरहेको जानकारी दिइएको छ ।
यसअघि पार्टी र संगठनले निष्कासन संगठनको हितविपरीत हर्कत गरेको भन्दै जन्मदेव जैसी, बाबुराम भुषाल, कमल बुढा, सुदिव बर्देवा, प्रभात चलाउनेलगायतलाई निस्कासन कारवाही गरिसकेको छ । तिनै व्यक्ति आफूलाई पार्टी र संगठनको मान्छे भन्दै संगठनको नाम जोडेर संचार गृह, मिडियाकर्मीसम्म पुग्ने र त्यही अनुरुप भ्रमपूर्ण समाचारहरु दिने गरेको पाइएपछि संगठनले आफ्नो धारणा विज्ञप्ति जारी गरेर स्पष्ट पारेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘आस्था र विचारका हिसाबले नेपाल कम्युनिष्ट पार्टीनिकट रहेको यस संगठनलाई बदनाम गराउन केही अराजक व्यक्तिहरु निरन्तर लागिरहेकाले सचेत रहन सबैलाई आग्रह गर्दछौं ।’ क्रान्तिकारी पत्रकार संगठनले बृहत आमसभाको प्रचार प्रसारका लागि मातृ पार्टीले नै प्रचारप्रसार उपसमिति गठन गरेर केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’को संयोजकत्वमा काम गरिरहेको समेत स्पष्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘मिडियाहरुसँग सहकार्य गर्ने विषयमा उपसमितिले नै काम गरिरहेको अवस्थामा यस संगठनको नाम बेचेर केही व्यक्तिले भ्रम छर्ने प्रयास गरिरहेको भन्ने सूचना आएकाले सचेत रहन सबैलाई आग्रह गर्दछौं । प्रचारप्रसार तथा मिडियालाई औपचारिक आग्रह गर्नका लागि प्रचार प्रसार उपसमिति र क्रान्तिकारी पत्रकार संगठन नेपालका पदाधिकारीसहितका सदस्यहरु आफै कृयाशिल रहेको जानकारी गराउँदछौ ।’