काठमाडौं, ५ मंसिर ।
नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीले भूमिगत भन्नु हस्यास्पद भएको बताएको छ ।
यही मंसिर ८ गते पार्टी पुनर्गठन गरेको दिनको अवसर पारेर यही मंसिर ८ गते नेकपा केन्द्रीय समितिले आयोजना गर्न गइरहेको र्याली तथा जनसभाको सम्पूर्ण तयारीबारे जानकारी दिन बुधबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा नेकपाले सो कुरा बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य एवं जनसभा प्रचारप्रसार उपसमितिका संयोजक चिरन पुन ‘मिलन’ले मंसिर ८ गते शनिबार आयोजना गर्न गइरहेको उत्सव र्याली र जनसभाको तयारी सम्पूर्ण रुपले पूरा भएको जानकारी दिए ।
‘हाम्रो पार्टीले पार्टी पुनर्गठनको दिनको अवसर पारेर यही मंसिर ८ गते काठमाडौंमा विशाल र्याली र जनसभा गर्दैछ । त्यसको तयारी सम्पूर्ण रुपले पूरा भएको यही पत्रकार सम्मेलन जानकारी गराउन चाहन्छु’ संयोजक मिलनले भने ‘सोही सन्देश तपाईहरुले मिडियामार्फत आमनागरिक तथा सबै पक्षसमक्ष पुर्याउनु हुन आग्रह गर्न चाहन्छु ।’
र्याली र जनसभा भव्य र शान्तिपूर्ण हुने कुरा पनि उनले प्रष्ट पारे । ‘यहाँ केही पक्षबाट कार्यक्रम अर्कै खालको हो जस्तो भनेर हल्ला गरेको बुझिन्छ, तर त्यो पूर्णरुपमा गलत छ’ उनले भने ‘कार्यक्रम आयोजना गर्ने हामी अर्थात नेकपा शान्तिपूूर्ण नै हो भनिराछौं । यसोभएपछि अरुको कुरा वा हल्लाको पछाडि कोही लाग्न भएन । यो पार्टीको यो कुरा राख्न पनि पत्रकार सम्मेलन गरिएको हो ।’
त्यस्तै पत्रकार सम्मेलनमा संचारकर्मीकोे प्रश्नको जवाफ दिँदै संयोजक मिलनले नेकपा गठन भएदेखि नै खुला र जनताको माझ् रहेको प्प्रप्रष्ट पारे । र, भने ‘हाम्रो पार्टी गठन पहिले पनि अहिले पनि खुला र जनतामाझ् छ । भूमिगत रहेको भए यहाँ यसरी तपाईहरुको अगाडि हुन्थ्यौं र ? त्यसकारण नेकपालाई भूमिगत भन्नु हस्यास्पद छ ।’ संयोजक मिलनले महासिचव विप्लव जनतासँग खुला रुपमा रहेकाे पनि स्पष्ट पारे । ‘सबैभन्दा बढी जनतासँग रहेको पार्टी हाम्रो पार्टी नेकपा हो । यहाँ लुकाउनुछिपाउनु पर्ने कुनै कारण छैन’ उनले भने ‘यतिखेर राज्यसँग हरेक प्रकारले ठूलो प्रतिस्पर्धा नेकपाको चलिरहेको छ ।’
उनले पार्टी पुनर्गठन गरेको घडीबाटै भूमिगत शब्द डिलिट गरेको बताए । ‘भूमिगत शब्दले जनतामा भ्रम पर्ने देखेरै त्यसलाई पूर्णरुपले त्यहीबेला पार्टीले डिलिट गरिसक्यौं । अब यसलाई सम्झेर दिमागलाई बोझ नपारौं’ उनले भने । जनसभाका मुख्य वक्ता नेकपाका प्रवक्ता प्रकाण्ड रहने र वक्ताको रुपमा अन्य पार्टीका शीर्षस्थ नेताहरुको पनि सहभागिता रहने उनले जानकारी पत्रकार सम्मेलनमा दिए ।
प्रचण्ड नेतृत्वको तत्कलीन एकीकृत नेकपा (माआवादी)लाई छाडेर मोहन वैद्य किरणको नेतृत्वमा बनेको नेकपा माओवादीसँग पनि सम्बन्ध विच्छेद गरेर २०७१ साल मंसिर ८ गते नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नेकपा माओवादी पुनर्गठन गरेको थियो । त्यसपछि पछि २०७३ फागुन १ गते काठमाडौंका उद्घाटन गरी ८ गते रोल्पाको थवाङमा सम्पन्न गरेको आठौं महाधिवेशनले पार्टीको पार्टीको त्यही नामलाई नेपाल कम्युनिस्ट पार्टी अर्थात नेकपा पारित गरेको थियो । पुनर्गठन गरेको सोही दिनको अवसर पारेर यही मंसिर ८ गते जनसभा गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य गुणराज लोहोनी उपस्थित थिए भने कार्यक्रम संचालन क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले गरेको थिए । क्रान्तिकारी पत्रकार संगठन नेपाल नेकपाको जनवर्गीय संगठन हो । संगठन अहिले देशव्यापी रुपमा मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक बृहत अन्तरक्रिया कार्यक्रम चलाइ्रहेको छ । हालसम्म उसले पश्चिम कञ्चनपुरदेखि पूर्वको ताप्लेजुङसम्म गरी मुख्यमुख्य शहरहरुमा १५ स्थानमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।




