काठमाडौं, मंसिर १ ।
चाडपर्वका कारण रोकिएको पल्सर सहिद स्मारक ए डिभिजन लिगको दोस्रो चरणको खेलहरु आजबाट पुनः सुरु हुँदै छ । एन्फाले सुरुमा बनाएको खेल तालिकामा केही हेरफेर गर्दै आजदेखि दोस्रो चरणको खेल सुरु गर्ने गरी खेल तालिका सार्वजनिक गरेको हो ।
आज मनाङ मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) तथा विभागीय टोली त्रिभुवन आर्मी र च्यासल युथ क्लबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल हलचोकस्थित एपीएफको मैदानमा हुनेछ ।
मनाङ र एनआरटीबीचको पहिलो खेल ११ बजे र आर्मी र च्यासलबीचको खेल साढे २ बजे सुरु हुनेछ । लिगको उद्घाटन खेलमै २(२ गोलको बराबरी खेलेका एनआरटी र आर्मी पहिलो जितको खोजीमा छ ।
यस्तै पहिलो खेल जितेको मनाङ त्यसलाई निरन्तरता दिने दाउमा छ भने च्यासल पनि पहिलो जितको खोजीमा छ। च्यासलले पनि पहिलो चरणमा बराबरी खेलेको थियो।
यसैगरी भोली मछिन्द्र क्लब र नेपाल पुलिसबीच पहिलो तथा ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच दोस्रो खेल हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
पर्सी जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेण्डस् क्लब र विभागीय टोली एपीएफबीच दोस्रो खेल हुनेछ । दुवै खेल एन्फा मैदानमा हुनेछ । सोही दिन सरस्वती क्बल र हिमालयन शेर्पाबीच हल्चोक मैदानमा दोस्रो चरणको अन्तिम खेल हुनेछ ।
यस्तै तेस्रो चरणको खेलहरु आगामी मङ्सिर ६ गतेदेखि शुरु हुनेछ। लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू मनाङ, थ्री स्टार, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, सङ्कटा, मछिन्द्र , सरस्वती युथ, च्यासल युथ, एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्।
राउण्ड रोविन लिगमा हुने लिगमा कूल ९१ खेल हुनेछन्। लिगको विजेताले नगद ५० लाखसहित ए डिभिजन लिग ट्रफी जित्नेछ।
यस्तै उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौँले सात लाख र छैटौँले पाँच लाख पाउनेछन्। यस्तै ‘फेयरप्ले’ टिमले नगद एक लाख पाउनेछन्।
प्रत्येक खेल जितेवापत एन्फाले विजयी क्लबलाई ५० हजार तथा ‘म्यान अफ दि म्याच’ खेलाडीलाई १० हजार दिनेछन्। खेल बराबरी भएमा भने दुवै क्लबले समान १५ हजार पाउनेछन्।