काठमाडौं, ३० कार्तिक ।
सत्तारुढ पार्टीकै नेताहरुले अहिले सरकार प्रगतिशीलहरुको भएपनि सत्ता सामन्तवादी रहेको टिप्पणी गरेका छन् ।
बिहीबार मोरङको विराटनगरमा क्रान्तिकारी पत्रकार संगठन नेपालले अयोजना गरेको ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सत्तारुढ नेकपाका मोरङ जिल्ला नेता ऋृषि पोख्रेलले सरकार कम्युनिष्टहरुको नेतृत्वमा भएपनि सत्ता सामन्त र दलालहरुको कब्जामा रहेको बताएका छन् ।
दलालहरुको कब्जा सरकार परेकै कारण नागरिकको दैनिक जीवन र राष्ट्रियता कमजोर बन्दै गएको टिप्पणी गर्दै यो सरकार असफल भए जनता निकै पछाडि पर्ने नेता पोखरेलको थियो । ‘कम्युनिष्ट नेतृत्वको सरकार असफल भएमा नेपालमा कम्युनिष्टहरुले कहिल्यै पनि न्याय र नेतृत्व दिन सक्दैनन्’ पोखरेलले भने । उनले सरकारमै बस्ने मान्छेहरुले संविधानले दिएको मानवअधिकार प्रेस स्वतन्त्रतताको अधिकारलाई कुल्चने कोशिस गरेको बताए ।
शान्तिपूर्ण भेला गर्न नदिनु संबिधानको भावनाविपरीत भएको भन्दै शान्तिपूर्ण भेला भएवापत कसैमाथि दण्ड गरिन्छ भने त्यो संबिधानविपरीत हुने र न्याय र संघर्षका लागि प्राण आहुति दिएका सहिदहरुले अपमान हुने उनले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गर्ने शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि सरकारले हस्तक्षेप गर्नु गलत हुने र यसबाट सरकारलाई क्षति पुग्ने उनको भनाई थियो ।
नेता पोख्रेलले भने हामीले रामराज्य होईन प्रगतिशिल राज्य निर्माणको परिकल्पना गरेका हौं, अहिलेको आवश्यकता भनेको गरिबहरुले न्याय र समानताको राज्यसत्ता निर्माण गर्न पाउनु हो ।’
कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अझै सत्यतथ्य कुरा बाहिर नआउनु र पीडितले अझै न्याय पाउन नसक्नु राज्यका संयन्त्रले सहि अनुसन्धान गर्न नसक्नु वर्तमान सरकार असफलताको गतिलो प्रमाण भएको उनको ठहर छ ।
उपभोग्य वस्तुमा चरम महंगी बढ्नुमा काला बजारियाहरुको हात रहेको र तिनलाई संरक्षण सत्ताबाटै भइरहेको कार्यक्रममा बोल्ने वक्ताहरुको धारणा थियो । जघन्य अपराधका दोषी तथा बलात्कारीहरुलाई कारवाही हुन नसक्नुले सरकारप्रति नागरिकको विश्वास टुट्न थालेको र यसबाट जनतामा विद्रोहमा भावना पैदा हुने खतरा बढेको वक्ताहरुको भनाई थियो ।
पन्तका बलात्कारी लगायत तस्कर र बिचौलियाहरुमाथि सरकारले तत्काल कारवाही गर्नुपर्ने विचार कानून व्यवसायी, अधिकारकर्मी, पत्रकार, महिला तथा राजनीतिक दलका प्रतिनिधिहरुले जोडदार माग गरेका छन् । संगठनको मोरङ जिल्ला समितिको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ जिल्ला शाखाका अध्यक्ष बन्धु पोखरेल, प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटेलले सरकार स्वतन्त्र प्रेसलाई कुण्ठित तुल्याएर सुचनाको हक खोस्न उद्यत रहेको भन्दै आलोचना गरेका थिए । यस्तै नेपाल कम्युनिस्ट पार्टीको मोरङका सेक्रेटरी नवराज भट्टराईले वर्तमान सरकार विदेशीको ईशारामा नागरिकको अधिकार खोस्ने र प्रेसको घाँटी निमोठ्न लागिपरेकोले आफूहरुले जिल्ला जिल्लामा जनताको पक्षमा काम गर्न वैकल्पिक सत्ता संचालन गरिरहेको बताए ।
बिहीबार विराटनगरमा सम्पन्न अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघको मोरङ जिल्ला शाखाको हलमा भएको थियो । संगठनको अर्को सोही विषयमा अन्तरक्रिया कार्यक्रम अहिले झापाको दमकमा हुँदैछ । यो कार्यक्रम संगठनले देशभर चलाउँदै आइरहेको छ ।



