काठमाण्डौ, कार्तिक २४ ।
आईसीसी ट्वान्टी–२० महिला विश्वकपमा इण्डिया र अष्ट्रेलियाले विजयी सुरुवात गरेका छन् । समूह बी अन्तरगतको खेलमा इण्डियाले न्युजिल्याण्डलाई ३४ रन र अट्रेलियाले पाकिस्तानलाई ५२ रनले पराजित गरे ।
इण्डियाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १ सय ६० रन मात्र बनायो ।
सुजी बेट्सले ६७ र केटी मार्टिनले ३९ रन बनाएपनि हार भने टार्न सकेनन् । दयालन हेमलता र पुनम यादवले समान ३–३ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको इण्डियाले क्याप्टेन हारमनप्रित कौरको १ सय ३ रनको मद्दतमा निर्धा्रित ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । मात्र ५१ बलको सामना गरेकी कौरले ८ छक्का र ७ चौका हानेकी थिईन् ।
समूह बी कै अर्को खेलमा अष्ट्रेलियाले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धा्रित ओभरमा ८ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो ।
६ जना व्याट्वुमन्स दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्केको पाकिस्तानी इनिङ्समा बिसमाह महरुफले सर्वा्धिक २६ रन बनाईन् ।
अष्ट्रेलियाले भने निर्धा्रित ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । अलिसा हेली र बेथ मुनीले समान ४८ रन बनाएका थिए ।