आ–आफ्नो परम्पराअनुसार भाइटीका लगाइयो, दाजुभाइ-दिदीबहिनी नहुनेले रानीपोखरी पुगेर लगाए टीका

आ–आफ्नो परम्पराअनुसार भाइटीका लगाइयो, दाजुभाइ-दिदीबहिनी नहुनेले रानीपोखरी पुगेर लगाए टीका

  • शुक्रबार, कार्तिक २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौँ, २३ कात्तिक

यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ ।

सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भए पनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत दिएको थियो । दिदीबहिनीले मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका लगाइयो । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ ।

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वाससमेत छ । कात्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि समाप्त हुने शास्त्रीय विधान छ ।

यसैबीच, अन्जली मास्केले काष्ठमाण्डपमा करिव २०० जनालाई भाइटीका लगाइदिएकी छन् ।

दिदीबहिनीको हातको टीका लगाउन नपाएका र दिदीबहिनी नभएकाहरुलाई मास्केले २०५५ देखि भाइटीका लगाइदिँदै आएकी छन् । मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो ।मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन् ।

उता, दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर परिसरमा पुगेर एकअर्कालाई भाइटीका लगाएका छन् । भाइटीकाको दिनमा दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरुले त्यही मन्दिरमा पुगेर टीका लगाउँछन् ।

रानीपोखरीको बीचमा अवस्थित मन्दिर भूकम्पले क्षतिग्रस्त भएकाले हाल पुनर्निर्माणको काम जारी छ । त्यसैले यस वर्ष पनि मन्दिरको मूल गेट बाहिरै भाइटीका लगाउने व्यवस्था मिलाइएको थियाे ।

राजा प्रताप मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युको शोकमा परेकी रानीलाई खुसी तुल्याउने उद्देश्यले बि.सं. १७२७ मा रानीपोखरी निर्माण गरेको इतिहासमा छ । पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि प्रताप मल्ल र उनका दुई छोराको शालिक पनि राखिएको छ । रानीपोखरीस्थित गोपालेश्वरको मन्दिर हरेक वर्ष भाइटीकाको दिनमा मात्रै खुल्ने गरेकेाछ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ