काठमाडौं, २२ कार्तिक ।
कन्टेनर भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक २० वर्षीय मिलन तामाङको मृत्यु भएको छ ।
यही २० गते मंगलबार राति करिब पौने ८ बजे सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–५ स्थित अरनिको राजमार्गअन्तर्गत कोठे भन्ने स्थानमा लामोसाँघुबाट काठमाडौंतर्र्फ आउँदै गरेको ना ५ ख ३८२७ नम्बरको कन्टेनर (डब्बा) भ्यानले मोटर साइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट सोही दिशाबाट काठमाडौंतर्फ आइरहेको बा ६५ प १८१६ नम्बरको मोटरसाइकल चालक तामाङको मृत्यु भएको हो । ठक्कर दिएपछि सडकमा ढलेका तामाङको उद्धारपश्चात धुलिखेल अस्पतालमा उपचारका क्रममा हिजो बुधबार बिहान अस्पतालमा मृत्यु भएको काभ्रे जिल्ला प्रहरी कार्यालय धुलिखेलले जानकारी दिएको छ ।
ठक्कर दिएपछि भ्यान चालक भ्यान लिएर फरार भएकोमा सोही दिन काभ्रेको खावाबाट धुलिखेल प्रहरीले नियन्त्रणमा लिएको थियो । भ्यान र भ्यान चालकलाई अहिले सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालय चौतारामा राखिएको र घटनाबारे विस्तृत अध्यायन भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ । नियन्त्रणमा लिइएको भनिएका कन्टेनर भ्यान चालकको परिचय सिन्धुपाल्चोक र काभ्रे प्रहरीले खुलाउन भने मानेन ।
मृतकलाई भ्यानले ठक्करपछि टायरले किचेको थियो । उनको कम्मरमुनिको भाग गम्भीर चोट लागेको र उपचार गर्दागर्दै घाइते चालक तामाङको मृत्यु भएको अस्पतालले जनाएको छ ।
काभ्रेको भुम्लुटार–८ दोलालघाटमा बाबुआमासँगै अस्थायी बसोबास गर्दै आइरहेका मृतक तामाङको स्थायी ठेगाना दोरम्बा गाउँपालिका–७ काफल डाँडा (साविकको लखनपुर गाविस–९) हो । मृतकका बुबा धावादोर्जे र आमा मसिनी दोलालघाट कोशीपारि बजारमा व्यवसाय गर्दै आइरहेका छन् भने उनीहरुका सन्तान एक छोरा र एक छोरी मात्र हुन् । जेठी सन्तान छोरी साथमै छिन् ।
मृतक काभ्रेको बानेपा कार्यालय रहेको यूएम बचत तथा ऋृण सहकारी संस्था लि.मा काम गर्दै आइरहेको बुझिएको छ । पीडित परिवारले नम्बर खुलाएर कन्टेनर भ्यान चालकविरुद्ध कारवाही गर्न जाहेरी दिएका छन् । मृतकको लाश परिवारले बुझेका छन् भने बिहीबारै साँझ दहसंस्कार गरिने मृतकका काका वीरेन्द्र विक्रम लामाले जानकारी दिए ।
सोही मोटरसाइकल पछाडि सवार चौतारा नगरपालिका वडा नम्बर ५ निवासी दिनेश लामा भने सामान्य घाइते भएको र अहिले उनी सामान्य अवस्थामा रहेको बताएका छन् ।