काठमाण्डौ, १५ कार्तिक ।
नेपालमा पहिलो पटक जापानिज भाषा परीक्षा अनलाईनबाटै हुने भएको छ । मोग सर्भिस प्राइभेट लिमिटेड नेपालले जापानिज भाषा परीक्षा अनलाईनबाट दिन पाउने व्यवस्था गर्न लागेको हो ।
आज राजधानि पत्रकार सम्मेलनको आयोजना गरि मोग सर्भिसका सीईओ ओमहरि प्रजापतिले जापान जान चाहनेले अब अनलाईनबाटै भाषा परीक्षा दिन पाउने बताउनु भयो ।
अहिलेसम्म सबै जापानीज भाषा परीक्षा कागजको प्रयोग गरेर लिने गरिएको छ । साथै परीक्षाको नतीजा पनि तुरुन्तै थाहा पाउन सकिने सीईओ प्रजापतिले बताउनुभयो । अहिले जापानिज भाषा परिक्षा धेरैवटा संचालनमा रहेपनि सबै परीक्षा कागजमा हुने र नतिजा थाहा पाउन पनि लामो समय कुर्नुपर्ने बाध्यता छ ।
विद्यार्थी तथा अन्य सेवाग्राहीलाई सजिलो र छिटो छरितो होस् भनेर मोग सर्भिस प्रालिले जापानको एन एस जी ग्रुपद्वारा संचालित सर्टीफाई इन्कसँगको सहकार्यमा प्राक्टिकल जापानिज कम्युनिकेसन (पीजेसी ब्रिज) परीक्षा सुरु गर्न लागेको उहाँले बताउनु भयो ।
अब परीक्षार्थीले परीक्षा सकिने बित्तिकै आफ्नो नतीजा थाहा पाउन सक्नेछन भने दस दिन जतिमै प्रमाणपत्र पाउनेछन्।
जापानको अध्यागमन विभागले मान्यता दिएको यो परिक्षा प्रणालीमा परीक्षार्थीले प्रत्येक हप्ता परिक्षा दिन पाउनेछन। यसले जापानिज भाषा परिक्षामा प्रयोग हुने ल्छ देखि ल्घ लेभल सम्मको जाँच एकैपटकमा गर्नसक्छ।
सन् १९७६ मा स्थापना भएको एनएसजी ग्रुपले परीक्षा संचालन गर्ने सर्टीफाई इन्क सहित तीनवटा विस्वविद्यालय र तीसवटा कलेज संचालन गरेको छ । सर्टीफाई इन्कले १९८३ देखि अहिलेसम्म तीस लाख परिक्षा संचालन गरिसकेको इन्कका डाइरेक्टर मासाको किमुराले बताउनुभयो।

पीजेसी परिक्षा सन् २०१३ बाट सुरु गरेको सर्टीफाई इन्कले २०१५ बाट पीजेसी ब्रिज परिक्षासंचालन गर्न सुरु गरेको हो। हाल सातवटा विभिन्न क्षेत्रमा २७ वटा विषयको परिक्षा लिदै आएको छ ।
