पुस्तक अनुवाद गर्न नेपाल–चीनको स्थायी संरचना बन्ने

पुस्तक अनुवाद गर्न नेपाल–चीनको स्थायी संरचना बन्ने

  • बुधबार, कार्तिक १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौँ, १४ कात्तिक  । 

नेपाल–चीन सांस्कृतिक आदानप्रदानअन्तर्गत पुस्तक अनुवाद गर्न स्थायी संरचना निर्माण गर्ने तयारी भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा मङ्गलबारदेखि यहाँ आयोजना गरेको नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन समापनका अवसरमा सो जानकारी दिइएको हो ।

प्रतिष्ठानको अनुवाद शाखालाई चीनलगायत मित्र राष्ट्रका सांस्कृतिक आदानप्रदानअन्तर्गत पुस्तक अनुवाद गर्ने गरी जिम्मेवारी दिने तयारी भएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । यससम्बन्धी सम्झौता गर्न गृहकार्य भइरहेको छ ।

“नेपाली भाषामा प्रकाशन भएका प्रतिनिधि कथा र कविता चिनियाँ भाषामा अनुवादका लागि दिन छनोटको काम भइरहेको छ, यी कृति बङ्गाली, हिन्दी र उर्दू भाषामा पनि अनुवादको तयारी भएको छ”, उहाँले भन्नुभयो । दुवै देशमा प्रकाशन भएका इतिहास, भूगोल, कला, संस्कृति, साहित्य, सभ्यता, द्विपक्षीय सम्बन्ध, विकास, विज्ञानप्रविधि, बालसाहित्य, जीवनी एवं समसामयिक विषयमा प्रकाशन भएका पुस्तक अनुवाद गरी जनस्तरसम्म सम्बन्ध सुदृढ बनाइने उद्देश्य छ ।

चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले नेपाली भाषामा अनुवादका लागि गत वर्ष ६० पुस्तक प्रकाशक र लेखकको अनुमतिसहित अख्तियारी दिएको थियो । आगामी वर्ष ६०० पुस्तक नेपालीमा अनुवादका लागि दिन गृहकार्य भइरहेको चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगका निर्देशक हुङ झुओ युईले कार्यक्रममा जानकारी दिनुभयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ र धर्मरत्न यमीले नेपाल भाषामा लेखेको सोँदे अर्थात् ‘तिब्बतको जवाफ’ नामक पुस्तक चिनियाँ भाषामा अनुवाद भइसकेको छ । डायमण्डशम्शेर राणाको उपन्यास ‘सेतो बाघ’ अनुवादक अनिश मल्लले नेपालीबाट चिनियाँ भाषामा अनुवाद गरिरहनुभएको छ । ‘मुनामदन’ अङ्ग्रेजी भाषाबाट चिनियाँमा अनुवाद भएको हो ।

नेपाल–चीनबीच सांस्कृतिक आदानप्रदानका बारेमा अनौपचारिक तहमा पटक पटक छलफल भएपछि पहिलो सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेपालीविज्ञ महेश पौडेलले ‘साहित्यिक अनुवाद ः नेपाल–चीन सम्बन्धको सांस्कृतिक सेतु’ र लिखत पाण्डेले ‘नेपालमा पुस्तक प्रकाशनको वर्तमान अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले दुई देशबीचको सांस्कृतिक आदानप्रदानका लागि साहित्यिक कृतिको अनुवाद एवं प्रकाशनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चिनियाँ भाषामा अनुवाद गर्न नेपाली पुस्तकको सूची तयारीको काम शुरु भइसकेको जानकारी दिनुभयो । चीनबाट नेपाली भाषामा अनुवादका लागि आउने कृतिको संयोजनको कामसमेत प्रतिष्ठानले नै गर्ने उहाँले बताउनुभयो । “अनुवादका लागि नेपाली विज्ञको छनोट प्रतिष्ठानले गर्नेछ, यसअघि तयार रहेको सूचीमा नयाँ विज्ञको सूची थप गरी कामको जिम्मेवारी दिइनेछ, प्रतिष्ठानले निजी प्रकाशनगृहलाई पनि प्रकाशनको काम दिनेछ, अरू राष्ट्रसँग पनि सांस्कृतिक सम्बन्ध विस्तार हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रा डा अभि सुवेदी, साहित्यकार निनु चापागार्इँलगायत विद्वान्ले अनुवाद एवं प्रकाशनका लागि चिनियाँ सहयोग हुनुपर्नेमा जोड दिनुभयो । अनुवाद र प्रकाशन अवस्थाका बारेमा चिनियाँ विज्ञ जु बाओफेङ, हुआङ झुओयुई, गुओ वेई र चेन मिङले चिनियाँ भाषाका पुस्तक नेपालीमा अनुवाद गर्न सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । कार्यपत्रका बारेमा गोलमेच छलफल भएको थियो । सम्मेलनमा दुवै देशका गरी ५० भन्दा बढी विज्ञको सहभागिता थियो । गत वर्ष चीनमा गरिएको सम्मेलनलाई निरन्तरता दिइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी