१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सर्लाहीको रामनगर ४ मा भएकाे झडपमा संलग्नहरुलाई कारबाही नगरसम्म मृतकको शव नउठाउने बताउनु भएकाे छ ।
नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको छ ।
घटनास्थलमा पुग्नुभएका कांग्रेस सांसद सिंहले हिजो वडाध्यक्षलाई कुटिएको र आज उनकै घरमा आक्रमण गरेर गोली हानेर मान्छे मार्ने काम भएको भन्दै उहाँले घटनामा संलग्नहरुलाई पक्राउ गरेर कारबाही नगरेसम्म शव नउठाउने बताउनु भयाे ।
उहाँले भन्नुभयाे, घटनामा संलग्नहरुलाई पक्राउ गरेर कारबाही नगरेसम्म आन्दोलन गर्छु, धर्ना दिन्छु, शव उठ्दैन ।’
मृतकलाई शहीद घोषणा गरेर पीडित परिवारलाई राहत दिनुपर्नेसमेत उहाँले बताउनु भयाे ।
वडाध्यक्ष रामनरेश महतो लाई नेकपाका कार्यकर्ताले सोमबार कुटपिट गरेका थिए । त्यही विषयलाई लिएर मंगलबार दुई दलका कार्यकर्ताबीच फेरि झडप भएपछि स्थिति तनावग्रत बनेको छ ।