रसुवा, कार्तिक १२ । मुलुककका बिभिन्न स्थानमा भएकाे छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाकाे मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन् ।
रसुवाको कालिका गाँउपालिका–४ अम्बासमा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चालकसहित तीनजना घाइते भएका छन् ।
प्रहरीका अनुसार बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा४ख ८३६६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्ड गाँउपालिका–३ का ४० बर्षीय कामी तामाङ र १५ बर्षीय प्रकाश तामाङ छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।
घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका–३ का २१ बर्षीय जीवराम थोकर, ट्रिपरमै सवार ३५ बर्षीय सार्की लामा र उनका ११ बर्षीय छोरा अदित तामाङलाई उपचारको लागि काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये लामाको अवस्था भने गम्भिर रहेको छ ।
यस्तै सुर्खेतको सिम्ता गाँउपालिका–६ जामुनेमा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सिम्ता–४ बजेडिचौरका ३५ वर्षीय कर्ण मल्ल रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय बादेपिपलका अनुसार गएराति साढे ९ बजे भे६प २२३१ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।