अछाम ,नेता र शिक्षक भनेको समाज बदल्ने संवाहक हुनु पर्ने हो । तर विकृतिको खालबाट उनीहरु नै पक्राउ पर्छन भने जनताले के सोच्लान ?
अछाममा यस्तै भएको छ । प्रहरीले हिजो बेलुका जुवातास खेलिरहेका स्थानीय राजनीतिक दलका नेता र शिक्षकलाई पक्राउ गरेको छ ।
अछामको जयबजारमा जुवा खेलिरहेका स्थानीय नेता, शिक्षक, व्यापारी ६० हजार नगद सहित पक्राउ परे ।
१४ जना पक्राउ गरिएका मध्य पक्राउ पर्नेहरूमा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव टेकबहादुर साउँद, कांग्रेस बान्नीगढी जयगढ गाउँपालिकाका सचिव सुरत रावल, बान्नीगढ जयगढ गाउँपालिकाका नेकपाका नेता टेकेन्द्र साउँद, नेकपाका नेता धर्मराज उपाध्याय, संगम साउँद, सरस्वती मावि जयगढका व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोहन ताम्राकार, सरस्वती माविका शिक्षकहरू युवराज शर्मा, गोकुल साउँद, जनज्योति आधारभूत विधालयका शिक्षक विजय शर्मा, व्यापारी गणेश शाह, स्थानीयहरू हिक्मत ताम्राकार, गणेश रावल, रुप स्वार र सिद्धराज शर्मा रहेका छन्।
जयगढ बजारमा प्रहरी निरीक्षक टेकबहादुर रावतको नेतृत्वमा खटेको टोलीले छापा मारेको थियो। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मंगलसेनमा राखिएको छ।
जुवातास खेल्दा पहिलो पटक पक्राउ पर्नेलाई तीन महिनासम्मको कैद र ३० हजार जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता ऐनको दफा १२५ मा छ। दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था ऐनमा छ।