अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले एकदिवसीय विश्वकप क्रिकेटका लागि नयाँ बाटो तयार पारेको छ।
शनिबार सिंगापुरमा बसेको आईसिसीको बोर्ड बैठकले आगामी सन् २०२३ मा हुने एकदिवसीय पुरुष विश्वकपलाई नयाँ बाटो तयार पारेको हो।
नयाँ रोडम्यापमा विश्वकप खेल्ने टोलीको छनोट प्रक्रिया राखिएको छ।यो प्रकृयाबाट जादा नेपाल जस्ता राष्ट्रहरुलाई फाईदा पुग्ने छ ।
भारतमा हुने सन् २०२३ को विश्वकप विभिन्न १० टोलीले खेल्नेछन्। तर, विश्वकप अघिको २ देखि ३ वर्षको अवधिमा विभिन्न राष्ट्रले ३७२ वटा छनोट खेल खेल्ने आइसिसिले जनाएको छ। यसबाट क्रिकेटमा प्रगति गर्दै आएका तल्लो तहका राष्ट्रलेसमेत माथिल्लोस्तरको राष्ट्रसँग खेल्ने मौका पाउनेछन्।
विश्वकपको नयाँबाटो अनुसार ३ वटा लिगहरू हुनेछन्। जसमध्ये आईसिसी सुपर लिग, आईसिसी लिग-२ र च्यालेन्ज कप हुनेछन्।
आईसिसी सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड गरी १३ टिम रहनेछन्। आईसिसी सुपर लिगको शीर्ष ८ टोलीले विश्वकप खेल्नेछन्।
सुपर लिगका बाँकी पाँच टिमले सन् २०२३ को विश्वकप छनोट खेल्नेछन्। विश्वकप छनोटमा १० टोलीले खेल्नेछन्। जसमा शीर्ष दुई टोलीले विश्वकप खेल्न पाउनेछन्।
यस विश्वकप छनोटमा सुपर लिगका पाँच, आईसिसी लिग-२ का ३ र विश्वकप छनोट प्ले अफका २ टोलीले खेल्नेछन्।
आईसिसी लिग-२ मा एकदिवसीय मान्यता पाएका ७ टोलीले खेल्नेछन्। यस लिगमा नेपालसहित युएई, स्कटल्याण्ड र डिभिजन-२ बाट आएका ४ टोलीले खेल्नेछन्। डिभिजन २ मा हङकङ, पपुवा न्यूगिनी, क्यानडा र नामिबिया छन्। जसबाट शीर्ष ३ टोलीले विश्वकप छनोट खेल्नेछन्। बाँकी ४ टोलीले विश्वकप छनोट प्ले अफ खेल्नेछन्। प्ले अफमा ६ टोलीले खेल्नेछन्। थप दुई टोली च्यालेन्ज कपबाट आउनेछन्।
च्यालेन्ज कपमा विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरीयताका १२ टोलीले खेल्नेछन्। १२ टोलीलाई २ समूहमा विभाजन गरिनेछन्। दुई टोलीको विजेताले विश्वकप छनोट प्ले अफमा स्थान बनाउनेछन्।
यस्तो छ रोड म्याप
सुपर लिग खेल्ने टिमहरू
अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड, दक्षिण अफ्रिका, श्रीलंका, पाकिस्तान, वेष्टइन्डिज र जिम्बाम्बे
लिग २ खेल्ने देशहरू
स्कटल्याण्ड, नेपाल, युएई र आइसिसि डिभिजन २ का शीर्ष ४ टोली
च्यालेन्ज कप लिग ए र बी
विश्व क्रिकेट लिगमा रहेका मध्ये २१ देखि ३२ वरीयताका १२ टोली।