‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दशैँमा दर्शकको मन

‘छक्का पञ्जा–३’ र ‘जयभोले’ले लिए दशैँमा दर्शकको मन

  • आइतवार, कार्तिक ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

–प्रकाश सिलवाल

काठमाडौँ, ४ कात्तिक

‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले जवाफ पाए–‘होइन कहिलेकाँही पढाइ पनि हुन्छ…’

सामुदायिक विद्यालयमा भएको अति राजनीतिक चित्रण र त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित नेपाली चलचित्र ‘छक्कापञ्जा–३’ को यो संवाद रमाइलोको विषय नबन्न सक्छ तर यस्तै संवाद र कथावस्तुको सो चलचित्रले यसपटकको दशैँमा दर्शकको मन जित्न सफल भएको हो ।
यही अवधिमा प्रदर्शन भइरहेको अर्काे नेपाली चलचित्र ‘जयभोले’ ले पनि बजार पाएको छ । दुई घन्टा पच्चीस मिनेटको ‘छक्कापञ्जा–३’ र एक घन्टा ५५ मिटेनको ‘जयभोले’ले को टिकट काट्न राजधानी उपत्यकाका चलचित्र घरमा आज पनि दर्शकको लाइन देखिन्छ ।

सामाजिक यथार्थलाई जीवन्त र हाँस्य रससहित प्रस्तुत ‘छक्कापञ्जा–३’ प्रदर्शन शुरु भएदेखि १३औँ दिनसम्म पनि ‘हाउसफूल’ भइरहेको छ । हरेक दिन तीन पटक लाग्ने काठमाडौँ उपत्यकाका विभिन्न २० हल (मल)मा यी दुई चलचित्र हेर्नेको भीड देखिन्थ्यो । दुबै चलचित्रका कतिपय कलाकार उही भएपनि कथावस्तु र प्रस्तुतिमा भिन्नताका कारण दर्शकले दुबै चलचित्र हेर्न छोडेनन् । विदाको बेला परिवारसहित समय बिताउने मनोरञ्जनको एक माध्यम चलचित्र पनि भएकाले पनि यी दुई चलचित्र चलेको देखिन्छन् ।

यसबीचमा चलेका कतिपय हिन्दी चलचित्रलाई भन्दा यी दुई नेपाली चलचित्रलाई दर्शकले बढी रुचाएको पाइएको नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले बताउनुभयो । ‘‘विगत चार वर्षदेखि दशैँका समयमा नेपाली चलचित्रको बजार बढ्न थालेको र यो क्रम यसपटक पनि जारी छ ।’’ पौडेलले भन्नुभयो ।

‘बक्स अफिस प्रणाली’का परामर्शदाता मनिष पण्डितका अनुसार ‘छक्कापञ्जा–३’ ले यसबीचमा राम्रो बजार लिएको छ ‘जयभोले’ले पनि यसलाई पछ्याइरहेको छ । सामाजिक सन्देशभित्र पनि ‘हे हे माधुरी पहिलो नम्बरमा, हाइ हाइ औँठी बैन्हा मारे मैले पहिलो नम्बरमा..’जस्ता मनोरञ्जनात्मक गीतसमेत यो चलचित्रमा समावेश छ । बक्स अफिस प्रणाली लागू भएपछि कुन चलचित्रले हालसम्म कति व्यापार गरेको छ भन्ने एकिन विवरण वितगमा जस्तो सार्वजनिक हुँदैन । निर्माता र निर्देशकले आफूखुशी धेरै व्यापार भएको प्रचार गर्ने तर चलचित्रको कर छली हुने सम्भावना रोक्न गत वैशाख १ गतेदेखि हरेक चलचित्र घरमा बक्स अफिसको सफ्टवेयर जडान गरेर ‘इ–टिकट’ अनिवार्य गरी एकीकृत सूचना सङ्कलन गरिन्छ ।

‘छक्कापञ्जा’ चलचित्रको शृङ्खलावद्ध प्रस्तुति भएकाले पनि दीपाश्री निरौलाको निर्देशन र कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वर्षा राउत, स्वस्तिका खड्का र दीपिका प्रसाईँलगायत कलाकार अभिनित ‘छक्कापञ्जा–३’ ले अहिलेको बजार लिएको देखिन्छ । घटस्थापनाको दिनदेखि चालू यो चलचित्रले बजार पाएको र दर्शकले माया गरेकामा प्रशन्न हुँदै निर्देशक निरौला भन्नुभयो, ‘सामाजिक चेतनाप्रधान विषयको नेपाली फिल्मलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने देखिएको छ, यसबाट हामी उत्साहित छौँ ।’

फूलपातिका दिनदेखि चल्न शुरु गरेको अशोक शर्माको ‘जयभोले’ले युवाका विकृति, प्रेम र मनोरञ्जनका साथै जातीय विभेदविरुद्धका विषयवस्तुलाई समेटेको छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिका खड्का, सलोन बस्नेत, बुद्धी तामाङलगायतका कलाकार रहेको यो चलचित्रमा प्रेमका लागि युवाहरुको आपसी द्वन्द्व र त्यसले निम्त्याएका गलत प्रवृत्ति उजगार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी