२७ असोज, म्याग्दी ।
म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ५ जना दक्षिण कोरियाली र ४ जना नेपालीको मृत्यु भएको छ ।
७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका उनीहरुको हिमआँधीमा परी मृत्यु भएको हो । किम च्याङ हो नेतृत्वको दक्षिण कोरियाली टोली चार जना नेपाली भरिया लिएर हिमाल आरोणमा गएको थियो ।
दुर्घटनामा दक्षिण कोरियाका जोहोन लि, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङ–व्यल मो जियोङको मृत्यु भएको घट्नास्थलमा रहेका गाईड लाक्पा शेर्पाले बताउनु भयो ।
गुर्जा हिमाल आरोहणमा कोरियाली पर्यटक लिएर पुगेका संखुवासभाका ३९ बर्षिय छिरिङ भोटे, २१ बर्षिय लाक्पा सोङवु भोटे र फुर्वु भोटे तथा स्थानीय गुर्जाका नेत्रबहादुर छन्त्यालको पनि हिमआँधीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुर्जामा रहेका गाईड शेर्पासँग गएका एक जना कोरियाली पर्यटक दुर्घटनामा परेको र अर्का अर्का ७७ बर्षिय हङ जिन च्योय हिंडन नसकेपछि बेस क्याम्पदेखी अन्दाजी तीन घन्टा तलबाट फिर्ता भएको उहाँले बताउनु भयो । अन्य पर्यटक भने आरोहणका लागि गएका थिए ।
तर सोही २५ राती माथी बेस क्याम्पमा दुर्घटना भएको उहाँले बताउनु भयो । २६ गते विहान सम्पर्क नभएपछि स्थानीय सहित खोज्न जाँदा दुर्घटना भएको थाहा पाएको उहाँको भनाई छ ।
२०६५ सालपछि सो हिमाल आरोहणका लागि सरकारले यो वर्षमात्र अनुमति दिएको थियो । भरियाका रुपमा गएका स्थानीहरु नफर्केपछि गुर्जुवासी हिजो साँझ हिमालको आधार शिविर तर्फ गएका थिए । उनीहरुले शव देखेको खवर गरेपछि प्रहरीले आज बिहानै बाट खोजी थालेको थियो ।
घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
आज बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार भएपछि पुनः खोजीमा जाने बुढामगरले जानकारी दिनुभयो ।
गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो ।
