राक्षसका बगालले एक्लै पारे आमा !
छटपटाएँ वाँचौ भनी तर हारें आमा !
लुट्नु लुटे पालैपालो पछि मारे आमा !
राक्षसका बगालले…….!
वाँच्न देऊ छोड भनी जति रोए पनि !
झम्टिए ती भोकाएको स्यालजस्तै बनी !
कति रोएँ मेरी आमा तिमीलाई डाकी !
रुँदा रुँदै कति वेला निदाएँ म थाकी !
राक्षसका बगालले …….!
खुट्टा ढोगें अंकल जी छोड अव भनी !
अत्याचारी जुकाले खुन पिए तनतनी !
छोरी खोज्दै कहाँ कहाँ भौंतारियौ होला ?
एकान्तमा छटपटिदै उठ्यो मेरो चोला !
राक्षसका बगालले …….!
ठूला बडा मान्छे रैछन हाम्लाई किन गन्थे
सरकारका हाकिम हौं फेला परिस भन्थे
जसले रक्षा गर्छ भन्थे उसले लुट्यो आमा
पानी पानी भन्दा भन्दै चोला उठ्यो आमा !
राक्षसका बगालले…….!
भेट्ने छैनौ मेरी आमा यो छोरीको सास
कुनै झाडी जङ्गलमा भेटिएला लास
मेरो हत्या गर्नेहरू थिए अलि खास
सितिमिति पत्ता लाग्ने नगरे है आश
राक्षसका बगालले…….!
घरै बस्नु छोरी भन्थ्यौ गल्ति भयो आमा
अम्वा खाने रहरले ज्यानै गयो आमा
सरी आमा भन्न मन थ्यो त्यो नि पाइएन
फर्की आउने कुरा थियो अहँ आइएन !
राक्षसका बगालले …….!
-बलराम तिमल्सिना
२०७५/०६/२६
ढल्को