पोखरा । पोखराको फेवातालमा सम्पन्न ८औं ओपन वाटर स्वीमिङ च्याम्पियनसिप २०१८को उपाधि ओलम्पियन शिरीष गुरुङले जितेका छन् ।
उनले २।५ किमिको दूरी २१ मिनेट ३२।६७ सेकेन्डमा पूरा गरे । योसँगै गुरुङले नगद २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
गुरुङले पाँचौं र छैटौं संस्करण पनि जितेका थिए । यसअघिको संस्करण भने सशस्त्र प्रहरीका देवेश मानन्धरले जितेका थिए ।
नेपाल पौडी संघको आयोजनमा फेवातालस्थित बाराहीघाटमा भएको च्याम्पियनसिपमा वेदज्ञराज जोशी २१ मिनेट ३८।३१ सेकेन्ड समयका साथ दोस्रो भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए ।
तेस्रो स्थानमा अविरल भण्डारी रहे । उनले २१ मिनेट ४२।३१ सेकेन्ड समय खर्चे । भण्डारीले १० हजार रुपैयाँ प्राप्त गरे ।
महिलातर्फको प्रतिस्पर्धामा उपास्ती महर्जन २२ मिनेट ३३।३५ सेकेन्ड समयका साथ पहिलो भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
यस्तै, २३ मिनेट ५५।९५ सेकेन्ड समयका साथ समीरा शोभा थापा दोस्रो तथा तेस्रो भएकी श्रेवी महर्जनले २४ मिनेट ०५।७७ सेकेन्ड समय लगाइन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १० र ८ हजार रुपैयाँ पाए ।