काठमाण्डौ, २६ असोज ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानविनका लागि नेपाल प्रहरीले एआइजी धिरु बस्नेतको नेतृत्वमा गठन गरेको छानविन समिति कञ्चनपुर पुगेको छ ।
झण्डै एक महिनासम्म काठमाडौंमा रहेर अनुसन्धान तथा छानविन गरिरहेको समिति पहिलोपटक आज कञ्चनपुर पुगेको हो । निर्मलाको हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुका साथै प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमी–कमजोरीको समेत छानविन थालेको छ ।
बस्नेत नेतृत्वको समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ । समितिले कञ्चनपुरमा घटनास्थल, पीडित परिवारलगतायत अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने बताइएको छ ।
सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरी मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको छानविन समितिले असोज ९ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ ।
यता पन्तका हत्यारालाई कारवाही गर्न दबाब दिने उद्देश्यले विभिन्न मानव अधिकारवादी संघ–संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना र प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले बलात्कारी र हत्यारालाई जोगाएर सरकारले कानुनी शासनको खिल्ली उडाएको आरोपसमेत लगाए ।
उनीहरुले सरकारले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।