जग्गा दलालहरुबाट यसरी ठगिदैँछन् सर्वसाधारण, धिमाललाई ठगले बनायो सुकुमबासी,  के भन्छ प्रहरी ?

जग्गा दलालहरुबाट यसरी ठगिदैँछन् सर्वसाधारण, धिमाललाई ठगले बनायो सुकुमबासी,  के भन्छ प्रहरी ?

  • बुधबार, अशोज २४, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाण्डौ ।

सुन्दर घर बनाई सुखी जीवन बिताउने मोरङ उर्लाबारी–८ दुर्गापुरीका विष्णुबहादुर धिमालको सपना तीन लाख रुपैयाँले अड्किरहेको थियो । भाइ नाता पर्ने रामप्रसाद धिमाललाई उनले आफ्ना सपना सुनाए । जग्गा धितो राखे ऋण जति पनि पाइने भन्दै रामप्रसादले विष्णुलाई हौस्याए । ऋण दिने साहु पनि खोजिदिने भने । त्यसपछि विष्णु भएजति जग्गाको लालपुर्जा बोकेर रामप्रसादकहाँ गए । रामप्रसादले विष्णुलाई लगेर दोलखा पवटी–३ का ३४ वर्षीय दिनेश कोइरालालाई भेटाइदिए । जग्गाको कारोबार गर्ने दिनेश त्यसवेला उर्लाबारीमै थिए ।

विष्णु, रामप्रसाद र दिनेश उर्लाबारीस्थित मालपोत कार्यालय पुगे । विष्णुको नाममा एक बिघा आठ कट्ठा जग्गा थियो । सबै जग्गा दिनेशको नाममा पास गर्ने, त्यसबापत तीन लाख रुपैयाँ विष्णुलाई दिने, दुई वर्षसम्म ऋण फिर्ता नगरे विष्णुको जग्गा स्वतः दिनेशको नाममा हुने व्यहोराको कागज बन्यो । रामप्रसादको विश्वासमा परेर विष्णुले कागजमा हस्ताक्षर गरे । लालपुर्जा दिनेशलाई थमाए । कागजअनुसार तीन लाख रुपैयाँ बुझेर उनी घर फर्किए ।

 अरू पनि त्यसैगरी ठगिए
सुनसरी इटहरी–५ का सहदेव गुरुङलाई घरायसी कारोबारका लागि २० लाख रुपैयाँ आवश्यक प-यो । ऋणको खोजी गर्ने क्रममा उनको भेट मितेरी साइनो पर्ने इटहरी–८ का तीर्थराज रेग्मीसँग भयो । घर धितो राखे ऋण मिलाइदिने भन्दै तीर्थराजले दिनेशलाई भेटाइदिए । दुवै मालपोत पुगे । तीर्थराजको विश्वासमा सहदेवले ५० लाख रुपैयाँ पर्ने घर दिनेशको नाममा पास गराए । कागजात लिए, दिनेश फरार भए । सहदेव आफ्नै घरमा सुकुमबासी बन्नुप-यो । दिनेशलाई खोज्दै उनी पनि अहिले काठमाडौं आइपुगेका छन् । सुकेधारामा भेटिएका उनले भने, ‘विश्वासमा परेर मैले घर पास गरेँ, हेर्दाहेर्दै म आफ्नै घरमा सुकुमबासी बन्न पुगेँ ।’

 कारोबार साझेदार बनाइदिने भन्दै ठग्दै
सहदेवसँगै भेटिएका मोरङ कानेपोखरी–५ का उमेश गुरुङसँग पनि दिनेशले जग्गा कारोबारको साझेदार बनाइदिने भन्दै एक करोड पचास लाख रुपैयाँ लिए । दुवैबीच रकम लेनदेनको कागजात भयो । रकम लिएपछि न दिनेशले उमेशलाई कारोबारमा साझेदार बनाए, न रकम नै फिर्ता गरे ।

त्यसैगरी, उनले इटहरी–८ की यशोदा भट्टराईसँग ३० लाख र उनकी आमासँग ५० लाख रुपैयाँ लिए । उनीहरूलाई झापाको दमकस्थित तारबारीमा सञ्चालित कृषि फार्ममा साझेदार बनाइदिने भनेका थिए । तर, उनले न कबुल गरेझैँ व्यवसायमा साझेदार बनाए, न रकम नै फिर्ता गरिदिए । ठूलै दबाबपछि दिनेशले आफ्नो र श्रीमतीको नाममा रहेको विभिन्न बैंक एकाउन्टबाट चेक काटे । तर, ती सबै बाउन्स भए ।

धुम्बाराहीमा भेटिएकी यशोदाले चेक देखाउँदै भनिन्, ‘कृषि फार्ममा साझेदार बनाइदिने भन्दै म र मेरी आमासँग गरी ८० लाख रुपैयाँ लियो । तर, उसले न साझेदार बनायो, न रकम नै फिर्ता ग¥यो । अब के गर्ने, केही सोच्न सकिएको छैन ।’

 प्रहरीले चासो देखाएन
दिनेशबाट ठगिएका सबै जम्मा भएर प्रहरीमा उजुरी गर्ने निर्णय गरे । त्यसको सुइँको पाएका दिनेशले त्यसपछि धेरैलाई विभिन्न किसिमका धम्की दिए । केहीलाई चेक बाँडे । त्यसमध्ये सहदेवले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिनेशविरुद्ध ९ असोजमा उजुरी दर्ता गरेका छन् । प्रहरीले घटना विवरण अध्ययन गरेर पनि दिनेशलाई पक्राउ गर्ने सम्बन्धमा खासै चासो देखाएको छैन । ‘हामी उजुरी गर्न टेकु गयौँ । घटना विवरण भन्यौँ । प्रहरीले उजुरी दर्ता पनि ग¥यो । तर, अहिलेसम्म दोषीलाई पक्राउ गर्न सकिएको छैन । किन यस्तो भइरहेको छ, बुझ्न सकिएको छैन,’ उनले भने ।

 यस्तो छ दिनेशको दाबी
मविरुद्ध उजुरी गर्ने सबै झुटा हुन् । उनीहरूसँग कारोबार भएको हो । केहीलाई मैले रकम फिर्ता गर्नुपर्ने थियो । त्यसमध्ये अधिकांशको रकम फिर्ता गरिसकेको छु । पीडितमध्ये विष्णु धिमाललाई म चिन्दिनँ । रामप्रसाद धिमालमार्फत उसलाई भेट्न खोजेँ, तर ऊ भेट्नै मान्दैन । के गरौँ ।

के भन्छ प्रहरी ?
एसएसपी वसन्त लामा, प्रमुख महानगरीय प्रहरी परिसर काठमाडौं
पछिल्ला दिनमा बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दा दर्ता धेरै बढेका छन् । यहीअन्तर्गत दिनेश कोइरालाविरुद्ध मुद्दा दर्ता भएको हो । हामीले चासो नदिएको भन्ने होइन । सबै मुद्दालाई उत्तिकै प्राथमिकतामा राखेका छौँ । त्यसलगत्तै समाधान हुनेछ ।

दिनेशको पहिलेदेखिकै धन्दा
विष्णुले पछि मात्र थाहा पाए दिनेशले गाउँका अरूसँग पनि त्यसैगरी ऋण लिएका रहेछन् । जसका लागि उनले मतियारका रूपमा रामप्रसादलाई प्रयोग गरेका रहेछन् । विष्णुलाई दिनेशको गतिविधिप्रति शंका लाग्न थाल्यो । दिनेशलाई तत्काल सम्पर्क गर्न खोजे । तर, त्यसवेलासम्म उनी बेपत्ता भइसकेका थिए । बेचैन बनेका उनले रामप्रसादलाई समाते । जग्गा तुरुन्तै फिर्ता गरिदिन भने । तर, रामप्रसादले न दिनेशलाई भेटाइदिए, न जग्गा नै फिर्ता गरिदिए ।

१५ भदौ ०७३ मा कागज गरेका विष्णुको सबै जग्गा कागजी रूपमा दिनेशको नाममा भइसकेको छ । सुकुमबासी बनेका उनी दिनेश खोज्दै अहिले काठमाडौं आएका छन् । धुम्बाराहीमा भेटिएका उनले भने, ‘दिनेश कोइरालाले मलाई सुकुमबासी बनायो । मेरा नाममा अब केही छैन । चलेको भाउअनुसार मेरा जग्गाको मूल्य तीन करोड ६० लाख रुपैयाँ पर्छ । तर, त्यसले तीन लाख रुपैयाँमा मेरो सबै सम्पत्ति खायो । म अब कहाँ जाऊँ ।’

विष्णुका अनुसार दिनेशले यसैगरी गाउँका दीपा धिमाल, रीता मगर, शिवलाल पुरी, राम धिमाललाई पनि सुकुमबासी बनाएका छन् । आर्थिक अभावका कारण उनीहरूसँग आफ्नै सम्पत्ति खोज्न सक्ने हैसियत छैन । ‘त्यसले मलाई मात्रै सुकुमबासी बनाएन, मेरो गाउँका अरूलाई पनि सुकुमबासी बनाएको छ,’ उनले भने ।

नयाँपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ