१७ असोज, चितवन ।
नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला समितिले पार्टीका नवराज ढकाललाई निष्कासन कारवाही गरेको छ । ढकाल चितवनकै स्थायी वासिन्दा हुन् ।
बुधबार नेकपा चितवनका सेक्रेटरी धुर्वले एक प्रेस विज्ञप्ति जारी गर्दै ढकालले पार्टीको निर्णयविरुद्ध क्रियाकलाप गर्नुका साथै पार्टीले दिएको निर्देशन पालना नगरेको उल्लेख गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेर कारवाही गरेको जनाएका छन् । ढकालमाथि अर्को गम्भीर आरोपमा लगाइएको छ । चितवन जिल्ला पार्टीले चलाएको ‘संगठन सुदृढिकीकरण तथा विस्तार अभियान’को बेला ढकालले पार्टीको गोपनियता भंग गरेर क्षति पुर्याएको कुरा विज्ञप्तिमा उल्लेख छ ।
स्मरण रहोस्, नेकपा चितवनले पार्टी केन्द्रको कार्यक्रम अनुसार गएको भदौ १ गतेदेखि यही असोज १५ गतेसम्म डेढ महिना लामो संगठन सुदृढ गर्ने र विस्तार अभियान चलाएको थियो ।
करिब तीन हप्ता यतामात्र नेपाल कम्युनिस्ट पार्टीले ढकालसहित १० जना कार्यकर्तालाई पार्टीको आन्तरिक सूचना चुहाएको, गोपनियता भंग गरेको, पार्टी निर्णय र पार्टी नेतृत्वविरुद्ध भ्राम समाचार वितरण तथा अराजक गतिविधि गरेको भन्दै साधारण सदस्यता नै खारेज गरी निष्कासन गरेर कारवाही गरिसकेको छ ।
यसअघि कारवाहीमा पर्नेहरुमा प्रभात चलाउने भनिने जाजरकोटका लालप्रभात चलाउने, कमल बुढा, कालिकोटका जन्मदेव जैसी, अर्घाखाँचीका बाबुराम भुसाल, सल्यानका डिल्लीराज रावत, झापाका सुदिप बर्देवा, मकवानपुरका तिलक अधिकारी, रुपमा गुरुङ र राज सापकोटा रहेका छन् ।