काठमाडौं, असोज १७ ।
नेपालले आज म्यानमारविरुद्ध खेल्दै आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्राको सुरुआत गर्दै छ ।
नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार मध्याह्न सवा १२ बजेदेखि सुरु हुने छ । मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले आफूहरू समूहविजेताकै हैसियतमा अघिल्लो चरण प्रवेश गर्ने बताएका थिए ।
प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् । नेपालले भने दोस्रो खेल अक्टोबर ६ मा मलेसियासँग खेल्नेछ ।
त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ । समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् ।
युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
टोलीमा भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र ओपनर प्रदीप ऐरीको पुनरागमन टोलीका लागि फलदायी हुने प्रशिक्षक जगत टमाटाले बताए । प्रदीपले २०१५ पछि पहिलो पटक राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् भने नेदरल्यान्ड्स भ्रमणमा औंलामा चोट लागेपछि शरद् पनि मैदानबाहिर थिए ।