१५ असोज, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमलाई ‘गम्भीर’लाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार बहस हुँदैछ ।
पोलिटब्यूरो सदस्य (पीबीएम) धमला र कार्कीलाई गैरकानूनी तरिकाले गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको भन्दै रिहा गर्न माग गरेर धमलापुत्र चेतन शर्माले दायर गरेको रिटमाथि आज बहस हुने भएको हो । रिट निवेदन यो चौथोपटक दायर हो ।
नेतादुवयलाई पछिल्लो पटक ‘आगजनी र विष्फोट’ अभियोगमा संखुवासभा जिल्ला प्रहरीको हिरासतमा राख्दै आएको छ । यसअघि विभिन्न अभियोगमा काभ्रे, नुवाकोट, दाङलगायत जिल्लामा घुमाइसकिएको छ । ती सबै अभियोगमा निर्दोष ठहर भइसकेका छन् ।
कार्की र धमलालाई पार्टी कामको सिलसिलामा काठमाडौं आउँदै गर्दा काठमाडौंको नागढुंगाबाट सादा पोशाकका प्रहरीले सार्वजनिक बसबाट साउन १० गते गिरफ्तार गरिएको थियो ।
- फाइल तस्बीर