कञ्चनपुर, १४ असाेज । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अझै पहिचान हुन सकेकेा छैन ।पछिल्लो पटक नमूना संकलन गरिएका तीनै जनाको डिएनए म्याच नखाएपछि निर्मला हत्या प्रकरण नयाँ मोडमा पुगेको छ ।
निर्मलाको हत्यारासम्म पुग्न अब डिएनए परीक्षण गर्ने मात्र अन्तिम विकल्प रहेको बताईंदै आएको छ । तर हत्यामा संलग्न भएकाे आशंका गरिएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित तीन जनाको डिएनए परीक्षण मेल नखाएको स्राेतले बताएकाे छ ।
घटनामा संलग्न भएको आशंकामा डिएनए परीक्षण गरिएका एसपी विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण गरिएकोमा म्याच नभएको कञ्चनपुरको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।
उनीहरु तीनैजनाको नमुना संकलन गरी डिएनए परीक्षण गरिएको थियो । निर्मलाको भेजाइनल स्वाबमा भेटिएको बलात्कारीको शुक्रकिटसँग परीक्षण गरिएका तीन जनाको शुक्रकिट मेल नखाएको हो ।
परीक्षणको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत् आज सार्वजनिक गर्ने तयारी गरिएकाे छ । यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका दीलिप बिष्टको डिएनए परीक्षण पनि मेल नखाएपछि उनलाई रिहा गरिएको थियो ।