- विरेन्द्रबहादुर विश्वकर्मा
खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ कालिकोट जिल्लाको माल्कोट गा.वि.स.मा जन्मिनुभएका एक गरिब किसानका छोरा हुन् । त्यतिमात्र होइन, प्रकाण्ड राज्यद्वारा अपहेलित र अन्यायमा पारिएका दलित र सहिद परिवारका सदस्य पनि हुन् । दाजु प्रकाण्ड सानैदेखि मेहनती, मिलनसार, र लनगशीलता व्यक्ति हुन् । कडा परिश्रम र मेहनत गरेर त्यतिखेर एसएलसी उत्तिर्ण गरेका थिए ।
त्यहीकारण उहाँ तत्कालीन माल्कोटको धाँचु भन्ने ठाउँमा सरकारको शिक्षकमा स्थायी जागिरे समेत भए । त्यतिबेलाका सामन्त भनाउँदा ठकुरी माथिल्लो जाति भनिनेहरुले उहाँलाई राम्रोसँग जागिर खान दिएनन् । गाउँमा त्यतिखेर ठकुरी शासन चलाउँथे । दलितमाथि धेरै प्रकार हत्या, हिंसा, अत्याचार, बलात्कार, छुवाछुत, दमन गर्थे । ती कुराहरु उहाँले सहनु भएन । सायद पढेलेखेकै प्रकाण्ड भएकोले निमुख जनता र महिलामाथि हुने अन्याय, अत्याचार र ज्यादातिपूर्ण व्यवहारको कडा प्रतिवाद गर्थे । त्यतिखेर आफू निरन्तर परिवर्तनको पक्षमा लागेर समाज परिवर्तन र देश विकासको अभियानमा होमिनुभयो । जागिर त्यागेर गरिब दलित महिला, बालिबालिका र सिङ्गो देशकै परिवर्तन गर्ने अभियामा आफूलाई उभ्याए ।
त्यहाँबाट निरन्तर संघर्षमा होमिए । २०५२ देखि अहिलेको सत्ता पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा १० वर्ष जनयुद्ध चल्यो । जनयुद्धका बेला यसो गर्नुपर्छ, यसो गर्नुपर्छ । अन्याय सहनु हुँदैन । सहनुपनि अपराध हो भन्ने प्रशिक्षणबाट प्रशिक्षित प्रकाण्ड प्रचण्डकै निर्देशनमा जनयुद्धको पुरै सयम संघर्षमा सहभागी भए । दलित, गरिब महिलाको मुक्तिको लागि युद्ध गर्नुपर्छ भनेर सिकाउने, युद्ध लड्न आदेश दिने प्रचण्ड–बादल आजका दिनमा जनयुद्धका होनाहार नेता प्रकाण्डलाई मानसिक र शारीरिक यातना दिई हातमा हत्कडी लगाउने स्तरमा झरे । हत्कडी लगाउँदा तिमीहरुलाई अलिकति पनि लाजको महसुस भएन । त्यो कुरा सर्वसाधारणले सम्झाइदिनुपर्ने स्थिति बन्यो ।
प्रकाण्ड साधारण व्यक्ति मात्र होइनन्, दुईदुई पटक मन्त्री भइसकेका व्यक्ति हुन् । जनयुद्धका तिनै प्रचण्ड, बादललगायत आज कायरमा रुपान्तरित भएका छन् । यी कायरहरुले त्यति छिट्टै जनयुद्धका केन्द्रीय आधार ईलाका रुकुम, रोल्पा, विशेष ग्े् कालिकोटलाई लात हान्यौ । कमरेड प्रकाण्डको गृह जिल्ला कालिकोटबाट मात्रै जनयुद्धमा ५ सयभन्दा बढी नागरिकले बलिदान गरे । घाइते, बेपत्ता, अपाङ्गहरुको संख्या कति छन् कति ? के यसको हिसाब तिमीहरु दिन सक्छौ ? तिनै सहिद, बेपत्ता योद्धाले गरेको बलिदान र त्यागकै कारण आज बादल र प्रचण्ड यो सत्ताको मालिक छौ । हिजो जनयुद्ध शुरु गर्ने बेला रोल्पा, रुकुम, कालिकोट जाँदा तिमीहरुले जनतालाई दिएका आश्वासनमा परी जनताले ज्यानको आहुति दिए । त्यतिबेलाका फासिष्ट सरकारले तिमीहरुको टाउकोको मूल्य तोकेको होइन ? र, तत्कालिन सरकारबाट बच्न कालिकोटलाई आधार इलाका बनाएका होइनौं ? घाँस काट्न र दाउरा ल्याउन जंगल जाने क्रममा एकमुठी सात, मकैको रोटी र भुटेको मकै–भटमास पुर्याएर बचाएका होइन तिमीहरुलाई ? यसअघि पनि कोलिकोटका एक युवाले जनयुद्धमा सुकेको लौका र चिचिण्डोमा घरको चोटामा पिसाब फराएर बचाएको पत्र पनि पढेकै हौला ।
त्यसरी कडा मेहनतकासाथ सँगसँगै हिँडेका सहकर्मी प्रकाण्डप्रति आज तिमीहरु यति निष्ठुरी बन्नुपर्ने त्यस्तो कारण के आइलाग्यो ? कसको निर्देशनमा यो गर्दैछन् ? जनयुद्धमा कालिकोटको माल्कोट पुग्दा तिमीहरुलाई दुश्मनले लखेटेको बेला त्यहाँका महिलाहरुले घगाँरुको लठ्ठीबाट सरकारी सुरक्षाकर्मीको राईफल खोसेर ज्यान बचाइदिएको कुरा आज सत्तामा पुग्दा चटक्कै बिस्र्यौ किन ? त्यतिखेर जनताले खोसेको राइफलमा टेकेर आज गृहमन्त्री, मन्त्री, प्रधानमन्त्री, अर्थमन्त्री भएका छौं । तिमीहरुलाई त्यो ठाउँमा पुर्याउने प्रकाण्डको कुनै त्याग, तपस्या र योगदान छैन ?
आज कालिकोटका जनताले लगाएका गुण तिमीहरुले बुझेकै रहेनछौं भन्ने कुरा कालिकोटका जनताले राम्ररी बुझेका छन् । प्रकाण्डले तिमीहरुलाई बचाउनको लागि जनयुद्धमा गरेको योगदान र निर्वाह गरेको भूमिकाको बदला आज हत्काडी लगाएर तिर्यौ । विद्रोह गर्नु जनताको अधिकार हो भन्ने प्रचण्ड–बादल नै हुन् । त्यो कुरा हामीले बिर्सेका छैनौं । बन्दुक बोक्नुपर्छ, दुश्मनको हतियार खोसेर दुश्मनतिरै पड्काउनुपर्छ भन्थ्यौ तिमीहरु गाउँगाउँमा हिँड्दा, झुपडीमा बास बस्दा । त्यो बेला बोलेका, प्रशिक्षण दिएका विषयहरु कर्णालीमा अझै जीवित छन् । ताजा छन् । तिमीहरु प्रधानमन्त्री र विभिन्न किसिमका मन्त्री भयौ होला, तर कर्णालीका जनताका समस्या जस्ताको तस्तै छ । दुःख, पीडा अभाव जहाँ थिए त्यही छन् । अझ बढेका छन् । र, देशको समस्या त झनै विकराल बनेका छन् । स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रियता थप खतरामा पर्दै गएको छ ।
त्यो कुरा सिंहदरबारमा देखिन्छ कि देखिँदैन ? तिमीहरुले जान्ने कुरा हो । तर जनताको तर्फबाट हेर्दा देशमा क्रान्ति सम्पन्न गर्नुको विकल्प छैन । क्रान्ति अनिवार्य छ । कर्णालीका जनताले क्रान्ति के हो ? यसले के दिन्छ ? क्रान्तिबाट के पाइन्छ ? भन्ने कुरा राम्रोसँग बुझेका छन् । जनयुद्धले यो कुरा नबुझाएको भए सायद तिमीहरु दललाल र गद्दार जस्ताले झुक्याइसक्थ्यौ हौला । तर जनता दलाल शासकभन्दा सचेत र स्वाभीमानी छन् । जनताको सत्ता हुन्थ्यो भने देशमा भ्रष्टाचार, बलात्कार, हिंसा, कमिशन, कालोधन्दा, अपराध, यसरी दिन प्रतिदिन बढ्दैनथे होलान् । नागरिकलाई पूर्णअधिकार सम्पन्न बनाउन कर्णालीका छोराछोरी आजका दिनमा पनि क्रान्तिमा छन् । जसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको छ । प्रकाण्ड त्यो पार्टीकाा प्रवक्ता छन् । त्यसकारण क्रान्तिको आवाज र झाण्ड उठाउने प्रकाण्ड अपराधी होइनन् । जनयुद्धका प्रकाण्डभन्दा अहिलेका प्रकाण्ड बढी इमान्दार, कर्तव्यनिष्ठ, क्रान्तिकारी र देशभक्त नेता सावित हुँदै गएका छन् । बरु क्रान्ति र परिवर्तनलाई रोक्ने र जनताको पीडामा चोट थपिदिने तिमीहरु पो अपराधी हौ ।
तिमीहरुले जनयुद्धका सहिदको सम्मान गर्न पनि सकेनौं । सम्बोधनको त कुरै छोडौं । प्रकाण्डका दुई भाई र एउटी बहिनीले जनयुद्धमा अधिकार र परिवर्तनका लागि प्राणोत्सर्ग गरे । भाई–बहनी गुमाउनुको पीडा बोकेर अधुरो क्रान्ति पूरा गर्न निरन्तर परिवर्तनकारी राजनीतिक आन्दोलनमा लागिरहेका जनप्रिय, साहसी र इमान्दार नेता हुन् प्रकाण्ड । तिमीहरु जस्तो धोकेबाज होइनन् र हुन सक्दैनन् प्रकाण्ड । आज उहाँलाई लगाएको हत्कडी र झुठा मुद्दा तुरुन्त खारेज गर्न र आइन्दा त्यस्तो गल्ती नगर्न तिमीहरुलाई कालिकोटवासीको चुनौति छ । इतिहास हेरे पुग्छ । उहाँ अपराधी होइनन् भन्ने कुरा तिमीहरुले बुझ्न नसक्दा तिमीहरुको ‘स्वग’रुपी सत्ताको जग हल्लिएको छ ।

सम्मानित सर्वोच्च अदालतबाट थुनामुक्त गर्न दिएको पटपकटकको आदेश उल्लंघन गरेर अपहेलित र अपमानित तरिकाले सर्वोच्चकै गेटबाट गिद्धाले झैं कुरेर ६–६ पटक गिरफ्तार गर्यौ । त्यसपछि झुठा अभियोगमा मुद्दा चलायौ । गिरफ्तारको चौतर्फी विरोध र आलोचना भयो । वास्ता गरिएन । तिमीहरुलाई लाजको कुनै गुञ्जायस भएन । बरु नालयक सावित भएरै पनि इतिहासमा दर्ज हुन तयार भयौ । प्रचण्ड, बादल र ओली लामो समयदेखि भ्रष्ट र माफियाका संरक्षक बन्यौ । भ्रष्टचारी भन्दा संरक्षक छिटो धनी बन्छन् भन्ने तिमीहरुले व्यवहार देखाई दियौ । तर त्यसो नगर्न र सच्चिएर स्वाभिमानी जनतासँग हातेमालो गरेर क्रान्तिलाई पूरा गर्न दिन सुझाउँछौं । साथै खबरदारी गर्न चाहन्छौं । यो पनि नबिर्सनु कि माल्कोटमा घगाँरुको लाठीबाट महिलाले खोसेर बुझाएको हतियारको बलमा र त्यतिखेर भारतमा बसेर (कर्णालीको) माछा खाएर सत्ता र शक्तिको फुर्ति लाउँदैछौ । ती कर्णालीका जनताको माला र अबिरले सम्मान गरेर, आफू मरेर भएपनि आफ्ना नेता र नेतृत्वलाई बचाएको गुणको साटो तिमीहरुले प्रकाण्डलाई हत्कडी र हिरासतमा मानसिक र शारीरिक यातना दियौ । अनि झुठा आरोप लगाएर अदालतमा मुद्दा चलायौं । यसको हिसाबकिताब ठीक समयमा हुन्छ । यो कुरा गहिरोसँग बुझी राम्रैसँग राखेकै हौला ।
जनताले तिमीहरुसँग चुक्ता हिसाब गर्ने भनेरै खाता सुरक्षित राखेका छन् । तिम्रा काठमाडौंमा भएका ती सेना, प्रहरी, सशस्त्र बल, गुप्तचर, सीआईडीले तिमीहरुलाई कतिन्जेलसम्म थेगेर, जोगाएर राख्न सक्लान् र । कडा सुरक्षा घेरा कतिन्जेल देला र । हामी जस्ता साधारण जनतामाथि दमन र अत्याचार कतिन्जेल गर्न सक्लान् र । त्यो कुरा बुझेका छौं । काठमाडौंबाट प्रकाण्डलाई कब्जा गरेका थियौ । अझै गर्ने षडयन्त्र नहोला भन्न सकिन्न । त्यसमा आफूलाई निकै साहसी र बहादुरी पनि ठान्यौ होला । सायद कतिको फुली पनि थपियो होला । थप्ने योजना बुन्दैपनि होलान् । दलाल, भ्रष्टचार, पूँजीपतिको बफादारी बन्यौ हौला । तर तिमीसँग जनताले सही समयमा सहि हिसाब गर्छन् । जनता उठेको दिन तिमीहरुलाई कब्जा गर्नेछन् भन्ने पनि बुझेकै हौला ।
अन्त्यमा इतिहासलाई बुझेर जनतालका प्रिय नेता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र पार्टीका कार्यकर्तालाई अपहेलित, अपमानित र अमानवीय तरिकाले गिरफ्तार गर्यौ । आँखामा कालोपट्टी बाँधेर दुई दिनसम्म बेपत्ता पार्यौ । बर्बर र क्रुर अनि अमावीय व्यवहार गर्यौ । पूर्णरुपमा कब्जामा लिएपछि हिरासतमा राख्ने र झुठा आरोप लगाएर गलाउने र एकीकृत जनक्रान्तिलाई सिध्याउने कुचेष्टा गर्यौ पनि । तैपनि तिमीहरुले बनिबनाऊ रुपमा लगाएको अभियोग र मुद्दामा प्रकाण्ड सम्मानित अदालतबाट निर्दोष ठहर भई रिहा भएका छन् । अन्तिममा तिमीहरु नचाहेर पनि अदालतको आदेशलाई मान्नुपर्ने हालतमा पुग्यौं । फरक राजनीतिक धारकै आधारमा कानून मिच्ने तिमीलाई पाठ सिकाइदिएको छ । अनि योपटक जस्तो दुस्साहस आगामी दिनमा देखाएर गम्भीर गल्ती छैनौ ।
(लेखक प्रकाण्डका भाई हुन्)





