१२ असोज, काठमाडौं ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शोभाराम बोहोरामाथि सोही गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीका भाई टोपबहादुर घर्ती र बाँदरपानी खानेपानी ब्यवस्थापन समितिका अध्यक्ष खेलबहादुर बुढाथोकीले निर्घात कुटपिट गरेका छन् ।
शुक्रबार बिहान ७ बजेतिर चिया खाइरहेको बेला सिम्रुतुस्थित चन्द होटेलमा कुटपिट गरेको घाइते वडाध्यक्ष शोभराम बोहराले बताए ।
यसअघि त्रिवेणी गाउँपालिका–२ बेतखोलामास्तिथ रोल्पा कागढलेदेखि आउने पाइपलाइन गाउँपालिका अध्यक्ष घर्ती र समितिका अध्यक्ष खेलबहादुर बुढाथोकीको योजनामा उनीहरुको पारिवारिको संलग्नतामा खानेपानी पाइप काटिएको थियो । त्यसपछि विवाद चुलिएको हो ।
पाइप काटिएपछि पीडित पक्षले पटकपटक खानेपानीको पाइप काट्नेमाथि कडा कारवाही गर्न र पाइप जोडिदिन वडा कार्यालयसँग आग्रह गरे । तर टेरेनन् । त्यसपछि पनि पाइप नजोडिएपछि असोज ५ गते पीडित ३६ परिवारले वडा कार्यालय घेराउ गरेका थिए ।
त्यसपश्चात वडा अध्यक्ष बोहराले खानेपानी समितिलाई हप्ता दिनभित्र काटेको पाइप जोड्न निर्देशन दिए । सोही अनुसार वडा कार्यालयबाट खानेपानी समितिका अध्यक्षलाई पत्र लेखे । यसै विषयलाई लिएर घर्ती र बुढाथोकीले गाउँपालिका अध्यक्षले समेत नजोड्न भनेको पाइप जोड्न भनेर आदेश दिने ‘तँ को होस् ?’ भन्दै वडाध्यक्ष बोहोरालाई कुटपिट गरेका हुन् ।
कुटपिट गर्ने घर्ती र बुढाथोकीमाथि कडा कारवाही गर्न माग गर्दै घाइते बोहराले इलाका प्रहरी कार्यालय सिम्रुतुमा उजुरी दिएका छन् ।