१२ असोज, दाङ ।
क्रान्तिकारी पत्रकार संगठन नेपालका तीनजनालाई संगठनले कारवाही गरेको छ ।क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष जानकी चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा दाङ जिल्ला संगठनका सन्तोष गुप्ता र बिदुर एमसीले समग्र संगठनलाई बदनाम गर्ने र संगठनको अनुशासन विपरित गतिविधि गर्नुको साथै सगंठनको नाममा विभिन्न सघंसस्थाको आर्थिक अनियमितता गरेको कुरा जानकारीमा आएकाले उनीहरुलाई संगठनको साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको जनाइएको छ ।
साथै जंग रेउलेलाई समेत संगठनको निर्णय विपरित गम्भीर अनुशासन उल्लङ्घन गरेको भन्दै रेउले लगायत उनीहरुलाई आजको मितिदेखि संगठनको साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।
विज्ञप्तीमा भनिएको छ –“जनपक्षीय पत्रकारिता र आम श्रमजीविका पक्षमा लामो समयदेखि संघर्ष एवं परिवर्तनकारी आन्दोलनमा साथ दिदै आएको हाम्रो संगठन क्रान्तिकारी पत्रकार संगठन, नेपाल सांगठनिक नीति, विधी, पद्धतिमा चल्दै आएको संगठन हो । तर पछिल्लो समय क्रान्तिकारी पत्रकार संगठन, नेपाल दाङ जिल्लाका सन्तोष गुप्ता र बिदुर एमसीले समग्र संगठनलाई बदनाम गर्ने र संगठनको अनुशासन विपरित गतिविधि गर्नुको साथै सगंठनको नाममा विभिन्न सघंसस्थाको आर्थिक अनियमितता गरेको कुरा जानकारीमा आएकाले उनीहरुलाई संगठनको साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको छ ।”
यसअघि पार्टी र संगठनको निर्णयविरुद्ध भ्रामक समाचार वितरण तथा पार्टीको आन्तरिक सूचना चुहाएर गम्भीर त्रुटी गरेको भन्दै नेकपाको मध्य केन्द्रीय कमाण्डका ईन्चार्ज सुदर्शन वली ‘सुदर्शन’ले भदौ २८ गते एक विज्ञप्ति जारी गरेर संगठनका निवर्तमान अध्यक्ष प्रभात चलाउने, केन्द्रीय सदस्य जन्मदेव जैसी, कमल बुढा र बाबुराम भुसाललाई साधारण सदस्यबाटै निस्कास गरेर कारवाही गरिएको थियो ।