११ असोज, काठमाडौं ।
क्रान्तिकारी पत्रकार संगठन नेपालले आज सुर्खेतको सदरमुकाम विरेन्द्रनगरमा मानवअधिकार र प्रेस स्वतन्त्रतासम्बन्धी अहिले १२ बजे एक बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
पछिल्लो समयमा प्रेस र अभिव्यक्ति स्वतन्त्रमाथि भइरहेको हस्तक्षेप तथा मानवअधिकार हनन, राजनीतिक द्वन्द्व र महिला हिंसा, बलात्कारका श्रृंखला बढिरहेको सन्दर्भमा समस्या समाधानका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने उद्देश्यले ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्र’ विषय बृहत अन्तरक्रिया कार्यक्रम चलाइएको हो ।
कार्यक्रममा संचारकर्मी, पेशागत संगठनका प्रतिनिधि, अधिकारकर्मी, कानून व्यवसायी, राजनीतिक दल, उत्पीडित क्षेत्र र समुदाय, महिला तथा स्थानीय सुरक्षा निकायको तर्फबाट प्रतिनिधिहरुको सहभागिता रहने आयोजक पक्षले जनाएको छ । कार्यक्रमलाई सदैव आवाजविहीनहरुको आवाज बनाइने कोशिस जारी रहने पनि उसले जनायो ।
कार्यक्रम विरेन्द्रनगर बजारको चाइनागेटस्थित एक होटलको हलमा हुँदैछ । यसअघि असोज ४ गते दाङको घोराही, ६ गते कञ्चनपुरको महेन्द्रनगर, ८ मा कैलालीको धनगढी र ९ मा बाँकेको नेपालगन्जमा बृहत अन्तरक्रिया सम्पन्न भइसकेको छ ।
प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई कुण्ठित गराउने गरी गत भदौ १ बाट सरकारले लागू गरेको ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ र सोही ऐनको देवानी र फौजदारी कसुरसम्बन्धी ऐनमा व्यवस्था गरिएको स्वतन्त्रविरोधी प्रावधानलाई संशोधन गर्नुपर्ने माग व्यापक बन्दै गइरहेको बेला यो कार्यक्रमले सम्बन्धित पक्षलाई संशोधनका लागि दबाब पुग्ने विश्वास गरिएको छ ।
संगठनले शुरुदेखि नै पूर्णप्रेस स्वतन्त्रलाई बन्देज लगाउने गरी उक्त ऐनमा गरिएको प्रावधान तत्कल खारेज गर्न माग गर्दै आइरहेको छ । यो कार्यक्रम पनि असाज २ गते दाङमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले बन्देजका सम्पूर्ण प्रावधान खारेज गर्नुपर्ने माग राख्दै केन्द्रीय आयोजनामा देशैभर बृहत् कार्यक्रम गर्ने निर्णय गरेको थियो ।