काठमाडौं, असोज ११ ।
प्रदेश ७ को स्थायी राजधानी र नामांकनबारे बिमती जनाउँदै धनगढीवासीले आज देखि अनिश्चितकालीन बन्दको घोषणा गरेको छ ।
स्थायी राजधानी र नामांकन बारे गठित विशेष सुझाव समितिले संसदमा प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ र प्रादेशिक राजधानी कैलालीको गोदावरी नगरपालिका ४ स्थित तेघरीमा राख्नुपर्ने एकमात्र सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो ।
सोही प्रतिवेदन प्रति विमत्ति जनाउँदै धनगढीवासीले त्यसमा असहमति जनाई बिरोध स्वरुप अनिश्चितकालीन बन्द गरेको हो । उनीहरुले हिजो धनगढीको मुख्य बजारमा रहेको प्रदेश सभा भवन अगाडी विरोध प्रदर्शन समेत गरेका थिए ।
नेकपाका सांसद तारालामा तामाङको नेतृत्वमा गठन गरेको सो समितिले भू–माफिया र वन तस्करसँग मिलेर वनक्षेत्र रहेको तेघरीमा प्रादेशिक राजधानीका लागि सिफारिस गरेको प्रदर्शनकारीहरुको भनाइ छ ।
उनीहरुले हाल अस्थायी राजधानी रहेको धनगढीमा राज्यले करोडौं लगानी गरिसकेको अवस्थामा धनगढीबाट १७ किलोमिटर उत्तरमा रहेको वनक्षेत्रमा राजधानी राख्नु कुनै पनि हालतमा उपयुक्त नहुने बताएका छन् ।
उक्त प्रदेश सभाको बैठक भोली ११ बजेका लागि बोलाइएकोे सभामुख अजुर्नबहादुर थापाले जानकारी दिनुभयो । उक्त बैठकमा प्रदेशका स्थायी राजधानीका बारेमा छलफल हुने बताइएको छ ।