१० असोज, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले काठमाडौंबाट प्रकाशित ‘जनआस्था’ साप्ताहिकमा प्रकाशित भ्रामक समाचारको एक प्रेस विज्ञप्ति जारी गरेर खण्डन गरेका छन् ।
क्रान्तिकारी पार्टीको विषयमा समाचारको आधिकारिकता पुष्टि नगरीकन र संवेदनशीतालाई बेवास्ता गरी समाचार प्रकाशित गरेको भन्दै समाचारप्रति दुःख समेत व्यक्त गरेका छन् । समाचारबारे सम्बन्धित पक्षसँग नबुझी यस्ता तथ्य र प्रमाणबिनाका उत्तेजनात्मक समाचारहरू सम्प्रेषण गरिएको भन्दै राज्यसंयन्त्रको एकतर्फी स्रोतको आधारमा प्रकाशित समाचारले संवेदनशीलताको गम्भीरतालाई बेवास्ता गरेको उनको विश्वास छ ।
साथैै तथ्य र प्रमाणहीन समाचार प्रकाशन गरेर परिस्थितिलाई उत्तेजनात्मक नबनाउन मिहीन शैलीमा विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । ‘देश र जनताको मुक्तिका लागि संघर्ष गरिरहेको एउटा क्रान्तिकारी पार्टीका विषयमा राज्यसंयन्त्रबाट प्राप्त गरिएका भनिएका सूचनाका आधारमा समाचारहरूको आधिकारिकताको पहिचान र संवेदनशीलताको ख्याल नगरीकन सार्वजनिक गर्नु दुःखद् कुरा हो’ बुधबार जारी विज्ञिप्तमा भनिएको छ, ‘हामी सम्बन्धित पक्षलाई यस्ता तथ्य र प्रमाणबिनाका उत्तेजनात्मक समाचारहरू सम्प्रेषण नगर्न अनुरोध गर्दछौँ ।’
साथै महासचिव विप्लवले लामो दिनपछि हिरासतबाट मुक्त भएका पार्टी प्रवक्ता प्रकाण्डलगायत सर्वोच्च अदालतको आदेशबाट रिहा भएका पार्टीका अन्य नेताहरूलाई हार्दिक स्वागत तथा बधाई ज्ञापन समेत गरेका छन ।
जनाआस्थाले केही हप्तादेखि नेकपा र तिनका नेताकार्यकर्ताविरुद्धका समाचार महत्वकासाथ निरन्तर प्रकाशित गर्दै आइरहेको छ । प्रवक्ता प्रकाण्ड गिरफ्तार परेदेखि झनै विरुद्धका समाचार व्यापक बनाउँदै लगिएको छ ।
साथै विप्लवले अन्यायपूर्ण गिरफ्तारीविरुद्ध र रिहाईको लागि अहोरत्र खटिएका कानून व्यवसायी, मानवअधिकारीवादी, पत्रकार, लेखक तथा सम्बन्धित सबै पक्षलाई महासचिव विप्लवले धन्यवादज्ञापन गरेका छन् ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः
