१० असोज, सुनसरी ।
नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला सेक्रेटरी पुष्प कोइराला र कोशी ब्यूरो सदस्य डीबी सिलवाललाई आज कारागार चलान गरिएको छ ।
संखुवासभा जिल्ला अदालतले कोइराला र सिलवाललाई अरुण तेस्रो जलविद्युत आयोजना कार्यालया बम विष्फोट गरेको मुद्दामा निर्दोष ठहर गर्दै रिहा गर्न हिजो मंगलबार आदेश दिएको थियो । तर सीडीओ गणेश अधिकारीको ठाडो निर्देशनमा पुर्पक्षको लागि भन्दै आज बुधबार संखुवासभा कारागार (जेल) हाल्न आदेश दिएपछि चलान गरिएको हो ।
दुवैजनालाई हातहतियार र खरखजानाको अभियोग लगाएर ‘संगठित अपराध’मा अभियुक्त बनाइएको छ । दुवैजनालाई साउन १८ गते सुनसरीको हलगडाबाट गिरफ्तार गरिएको थियो ।
सेक्रेटरी कोइराला र ब्यूरो नेता सिलवाललाई न्यायालयबाट निर्दोष सावित भइसकेपछि राजनीतिक पूर्वाग्रहको आधारमा गृहप्रशासनले झुठा मुद्दा उब्जाएर सीडीओ आदेशमा जेल हालेको भन्दै नेकपा कोशी ब्यूरोले घोर आपत्ति जनाएको छ ।
निर्दोष नेताद्वयलाई तत्काल बिनासर्त रिहा गर्न माग समेत ब्यूरोले गरेको छ । ‘जिल्ला सेक्रेटरी कोइराला र ब्यूरो सदस्य सिलवाललाई सुनियोजित र षडयन्त्रपूर्वक सरकारले झुठा मुद्दा सिर्जना गराएर गृह प्रशासनको निर्देशनमा जेल पठाएको छ । यस हर्कतको घोर भत्सर्ना गर्दछ’ कोशी ब्यूरोले बतायो ।
दुवै नेतालाई निःसर्त रुपमा अविलम्ब रिहा नगरिए कडा आन्दोलनको घोषणा गरेर प्रतिरोधमा उत्रने चेतावनी समेत ब्यूराले दिएको छ । राजनीतिक प्रतिशोधतबाट गृह प्रशासन नचल्न समेत आग्रह गरिएको छ ।