काठमाडौं, असोज १० ।
यूएईमा भैरहेको एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेश आज खेल्दैछन् । नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुने छ ।
आजको खेलको विजेताले आगामी शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ । पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेलाइएको हो ।
जस अनुसार सुपर फोरमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान भिडेका थिए । भारतले पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
यसैगरी अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ भने आज पाकिस्तान र बंगलादेश खेल्दैछन् । सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेशले अफगानिस्तानलाई पराजित गरेका थिए भने भारतसँग दुवै टिम पराजित भएका थिए ।
त्यसैले पाकिस्तान र बंगलादेशको २–२ अंक रहेकाले आजको विजेता फाइनल पुग्ने छ ।