काठमाडौं, असोज १० ।
निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले गुपचुपमा प्रतिवेदन बुझाएको छ। समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिरै राखेर समिति संयोजक हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन्।
प्रतिवेदनमा प्रहरीका कमजोरी औंल्याइएको स्रोतले जनाएको छ। प्रतिवेदनले गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले ‘एक्सन’ नलिँदा घटनाले ठूलो रूप लिएको उल्लेख छ। समितिका एक सदस्यले भने, ‘निर्मला बलात्कारपछि हत्याको अनुसन्धानमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले चासो नदेखाउनुले घटनाबारे उनी पूर्व जानकार रहेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।’
विष्टमाथि अनुसन्धान गर्दा थप प्रमाण फेलापर्नेमा ढुक्क हुन सकिने समितिले यकिन गरेको छ। समिति संयोजक मैनाली भने प्रतिवेदनबारे बोल्न मानेनन्। उनले भने, ‘मैले प्रतिवेदन बुझाएँ। प्रतिवेदन भित्र के छ, त्यो मैले बोल्न मिल्दैन।’
समितिले निर्मला हत्यापछि कञ्चनपुरमा दोषीलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा ‘राजनीतिक घुसपैठ’ भएको निक्र्यौल गरेको छ। ‘प्रहरीले घटनालाई सामान्य रूपमा लिनु, पीडित पक्षले आरोप लगाएका व्यक्तिमाथि प्रहरी गम्भीर नहुनुले प्रहरीको कामकारबाही शंकाको घेराभित्र छ, थप अनुसन्धान हुनुपर्छ,’ प्रतिवेदनबारे स्रोतले भन्यो, ‘आरोपी व्यक्तिलाई अभियुक्त बनाएर मुख्य अभियुक्त उम्काउन खोजेको देखियो।’
प्रतिवेदनले बलात्कारपछि हत्या जस्तो गम्भीर र संवेदनशील घटनाका पीडितलाई समयमै सम्बन्धित पक्षले सम्बोधन नगर्दा घटनाले उग्ररूप लिएको ठम्याइ गरेको छ। ‘प्रहरीले जनविश्वास गुमाएपछि न्याय खोज्न जाने सर्वसाधारणले सरकारको ध्यानाकर्षणका लागि सडकमा आउनु स्वाभाविकै हो,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रहरी चुक्नु भएन।’नयाँ पत्रिकाबाट