काठमाडौं, असोज ९ ।
बंगलादेशमा आगामी अक्टोबर १ देखि सुरु हुने पाँचौ संस्करणको बंगबन्धु गोल्डकपको तयारीका लागि नेपाली टोलीले आजबाट अभ्यास गर्दै छ । प्रतियोगितामा नेपालबाट साफ च्याम्पियनसिपमा रहेको टोली नै जाने भएको छ ।
साफ च्याम्पियनसिप खेलेको टोलीमा रहेका २० मध्ये १८ खेलाडी यथावत छ भने विदेशी लिगमा व्यस्त रहेका गोलिकपर किरण चेम्जोङ र रोहित चन्दको स्थानमा विशाल श्रेष्ठ र तेज तामाङ छन्।
एन्फाले दुई खेलाडीलाई बोलाउँदै बंगबन्धु खेल्ने नेपाली टोलीको नाम तय गरेको हो। तेज नेपाल पुलिस क्लब र विशाल मनाङ मर्स्याङदी क्लबबाट ए डिभिजनका लागि दर्ता भएका खेलाडी हुन्।
नेपाली टोली सेप्टेम्वर ३० तारिख (असोज १४) मा बंगलादेश प्रस्थान गर्नेछ। समूह ए मा रहेको नेपालले अक्टोबर २ (असोज १६) मा ताजिकिस्तानसँग पहिलो खेल खेल्नेछ। यस्तै अक्टोबर ६ मा प्यालेष्टाइनसँग दोस्रो खेल खेल्नेछ।
यसैबीच एन्फाले असोज १३ गतेदेखि सुरु गर्ने लागेको ए डिभिजन लिगको उद्घाटन खेल खेलाउने र बंगबन्धु गोल्डकप अवधीभर लिग स्थगित गर्ने निर्णय गरेको छ।