८ असोज, काठमाडौं ।
आफूभन्दा करिब ३२ वर्षले जेठो पुरुषको प्रेम प्रस्ताव नस्वीकार्दा रौतहटकी सम्झना दास मृत्युवरण गर्न पुगेकी छन् । परिवार र अस्पतालको हरदमको प्रयासबाबजुद अपराधीको आक्रमणबाट गम्भीर घाइते परेकी उनी आइतबार मध्यरातमा यस धर्तीबाट बिदा भइन् ।
सम्झना चन्द्रपुर नगरपालिका वडा नं.६ का जादवलाल दासकी १८ वर्षीया जेठी छोरी हुन् । करिब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानले सम्झना र उनकी बहिनी सुस्मितासँग प्रेम प्रस्ताव राखेको र प्रस्तावलाई दुवैजनाले अस्वीकार गर्दै आएको स्थितिमा तेजाब आक्रमण गरेको खुलेको प्रहरीले बताएको छ ।
त्यही विषयलाई लिएर कथित प्रेमी पासवानले गएको भदौ २७ गते मध्यरातमा आफ्नै घरको एउठा कोठमा सुतिरहेकी सम्झना र सुस्मितामाथि मानव स्वास्थ्यका लागि घातक हतियार मानिने एसिड छ्यापे । ढोका फोडेर भित्र छिरेका पासवान तत्काल त्यहाँबाट भागे ।
एसिड अनुहार र कम्मरभन्दामाथि परेकाले दुवैजनाको अवस्था गम्भीर भएको थियो । दुई बहिनी पोल्यो भन्दै चिच्याइन् । अर्को कोठमा रहेकी आमा परमशिला तत्काल छोरीहरुको कोठामा आइन् तर के भएको भन्ने ठम्याउन सकिनन् । अर्को नाटक गर्दै तिनै पासवान पनि आइपुगे र एसिड छ्यापिएको रहेछ भन्दै उनैले स्थानीय अस्पतालसम्म पुर्याउन सघाए । त्यतिमात्र नभई त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको र्कीतिपुर अस्पतासम्म आएर पनि साथ दिने, कुरुवा बस्ने गरे ।
तर उक्त जघन्य घटना उनै पासवानले गराएको खुल्यो र प्रहरीले पक्राउ गरी हिरासतमा लियो । तेजाब आक्रमण आफूले नै गरेको बयान पासवानले प्रहरीलाई दिइसकिएको प्रहरीले बताएको छ । आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेकाले अनुहार बिगार्ने उद्देश्यले तेजाब छ्यापेको अपराध उनले स्वीकार गरेका छन् । अहिले उनी थप अनुसन्धानका क्रममा प्रहरीको खोरमा छन् । तेजाबबाट सम्झनाको कम्मरमाथिको पूरै जलेको थियो भने सुस्मिताको केही मात्रामा कम जलेको छ ।
सघन कक्षमा राखेर उपचार गराइरहेकी दिदी सम्झनाको आइतबार राति ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । सोही अस्पतालमा उपचार गराइराखेकी १५ वर्षीया बहिनी सुस्मिताको स्वास्थ्यावस्था भने सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
छोरीको मृत्युबाट परिवार शोकमा डुबेको छ । आमाबाबुले छोरीको हत्यारालाई कडा कारवाही गर्न माग गरेका छन् ।